काठमाडौं १ मा प्रकाशमान सिंहलाई विरासत थाम्ने चुनौती, भारी हुँदै किरण पौडेल

काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेसको पछिल्लो महाधिवेशनमा सभापति उठ्नुभएका वरिष्ठ नेता प्रकाशमान सिंह पराजित हुनुभयो ।

गएको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्नुभएका प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह पनि पराजित हुनुभयो ।

अहिले प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं. १ बाट पुनः प्रतिनिधिसभा सदस्यका लागि उठ्नुभएको छ । यसमा हुने उहाँको हारजितले काठमाडौंको राजनीतिमा प्रकाशमान सिंहको पारिवारिक विरासत समेत रहन्छ कि रहँदैन भनेर निर्धारण गर्ने निश्चित छ ।

यही कारणले पनि होला, पर्यवेक्षकहरूको ध्यान तान्न समर्थ विभिन्न क्षेत्रहरू मध्ये काठमाडौैं क्षेत्र नं. १ पनि बनेको छ । यो क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता प्रकाशनमान सिंह उम्मेदवार बन्नुभएको छ भने विपक्षीबाट नेकपा (एमाले) का किरण पौडेल मैदानमा हुनुहुन्छ । त्यस्तै भर्खरै विवेकशील साझा पार्टी त्यागेर राप्रपा प्रवेश गर्नुभएका पूर्व पत्रकार रवीन्द्र मिश्र पनि अहिले यो क्षेत्रबाट पुनः उम्मेदवार बन्नुभएको छ ।

गएको चुनावमा कांग्रेसका प्रकाशमान सिंहसँग करिब ८०० मतको अन्तरले पराजित हुनुभएका मिश्र अहिले राप्रपा जस्तो देशव्यापी संगठन भएको पार्टीका उम्मेदवार हुनुहुन्छ । उता सिंह पनि गठबन्धनका उम्मेदवार भएका कारण पहिलेभन्दा बलियो हुनुभएको छ ।

तथापि गएको स्थानीय चुनावको मतपरिणाम हेर्ने हो भने यो क्षेत्रमा एमालेका उम्मेदवार किरण पौडेल पनि उतिकै शक्तिशाली देखिनुभएको छ ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरका ३२ वडामध्ये नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२ र नेकपा (एकीकृत समाजवादी) एउटा वडामा विजयी भएका थिए । उक्त चुनावको मतपरिणाम हेर्ने हो भने यसपालीको चुनावमा सत्तागठबन्धनका उम्मेदवार प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौं क्षेत्र नं. १ मा महानगरको चार वटा वडा १०, ११, २९ र ३१ समेटिएकामा कांग्रेसले १०, ११, २९ र एमालेले ३१ वडामा जितेको थियो ।
उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीबाट रमेश खरेल पनि उम्मेदवार हुनुहुन्छ ।

गत स्थानीय तहको निर्वाचनमा चार वटा वडाबाट कांग्रेसका वडाध्यक्षहरुले कूल नौ हजार ८९५ मत प्राप्त गरेका थिए भने एमालेका वडाध्यक्षले नौ हजार ५४१ मत पाएको देखिन्छ । यो तथ्यांक हेर्दा कांग्रेस ६५४ मतले अगाडि छ । राप्रपाले कुनै वडा नजिते पनि उसले एक हजार ३७६ मत प्राप्त गरेका थिए ।

वि.सं. २०७४ को संसदीय चुनावमा मिश्रलाई ८१८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएका सिंहले १० हजार ९३६ मत प्राप्त गर्नुभएको थियो । गत निर्वाचनको नतिजा उल्टाउने दाउमा मिश्र हुनुहुन्छ भने नेता सिंह यसपाली माओवादी केन्द्र र नेकपा (एस) को समेत समर्थन सहित मैदानमा हुनुहुन्छ । तर एमाले एक्लै भए पनि गत स्थानीय निर्वाचनको मतपरिणामले किरण पौडेलको जितलाई नकार्न सकिँदैन ।

काठमाडौँ क्षेत्र नं. १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्रबाट कूल ४५ हजार १८ मतदाताले मत दिनेछन् । तीमध्ये २३ हजार ४४८ महिला र २१ हजार ५७० पुरुष छन् ।