सगरमाथामा देखिएको हिउँ चितुवा
काठमाडौं, २१ कार्तिक । नेपालस्थित अमेरिकी दूतावासले आफ्ना नागरिक किटिया पावलोभ्स्कीले नेपालको सगरमाथा क्षेत्रमा खिचेको हिउँ चितुवाको तस्बिर सगौरव सार्वजनिक गरेको छ ।
अमेरिकी फोटोग्राफर एवं कथावाचक पावलोभ्स्कीले गत अक्टोबर ९ तारिखको बिहान ४ बजेतिर खुम्बु क्षेत्रको ५,४८६ मिटर उचाइमा उक्त तस्बिर खिच्नुभएको थियो ।
किटियाले आफ्नो वेब साइटमा आफूले खिचेका केही थान तस्बिर र उक्त तस्बिर खिच्न गरेको मेहनतबारे लेख्नुभएको छ ।
उहाँका अनुसार सो ठाउँमा हिउँ चितुवा भेटिन सक्छन् भन्ने कुरा त्यहाँका स्थानीयहरूबाट पनि सुन्नुभएको थियो ।
स्थानीय गाइड युङडुङ छेवाङका अनुसार खुम्बु क्षेत्रमा पशुपालन गर्ने स्थानीयका लागि सबैभन्दा ठूलो खतरा नै हिउँ चितुवा हो । त्यसैले उनीहरू हिउँ चितुवा आफूतिर नआओस् भनेर हरदम सचेत रहेका हुन्छन् ।
सगरमाथा राष्ट्रिय निकुञ्जका अनुसार उक्त पार्क क्षेत्रभित्र करिब ३०० वटा जति हिउँ चितुवा छन् । सन् २०२१ भन्दा अहिले हिउँ चितुवाको संख्या २६ प्रतिशतले बढेको पनि निकुञ्जको दावी छ ।
पmोटोग्राफर पावलोभ्स्की लेख्नुहुन्छ, ‘मैले गोरखसेपमा हिउँ चितुवाको पाइतलाको छाप देखेँ । त्यसले मेरो उत्साह जगाइदियो । म आफ्नो टेलिक्यामेरा बोकेर गोरखसेपको उत्तरपूर्वी दिशातिर गइहालेँ ।’
‘पर कुनामा हिउँ चितुवा देख्दा मलाई त लागेको थियो त्यो कुनै चट्टानको अंग हो,’ उहाँले लेख्नुभएको छ, ‘चलमलाएपछि मलाई यकिन भयो, यो मैले खोजिरहेकै जन्तु हो ।’
विश्वमा हिउँ चितुवालाई अत्यन्त दुर्लभ जन्तुका रूपमा लिने गरिन्छ । त्यसको तस्बिर खिच्न फोटोपत्रकार पावलोभ्स्की सगरमाथाको त्यस्तो क्षेत्रमा जानुभएको थियो जहाँ पुग्नु पनि मानिसका लागि दुर्लभै हुने गर्छ ।