निर्वाचनले हवाई यात्रुकाे चाप बढ्याे, चुनावका दिन चार्टर्ड उडान मात्रै
काठमाडौँ, २९ कात्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनले हवाई यात्रुको चाप पनि बढेको छ । विमानस्थल कार्यालयले राजधानी काठमाडौँ भित्रिने र बाहिरिने यात्रुहरुको सङ्ख्या बढेको जनाएकाे छ ।
दैनिक १४ हजारभन्दा बढीले काठमाडौँस्थित आन्तरिक विमानस्थल प्रयोग गरिरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो । ‘निर्वाचन नजिकिएसँगै आन्तरिक उडानमा चाप बढेको छ, यात्रुको चापले विमानस्थल भरिभराउ छ’, उहाँले भन्नुभयो ।
आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि मतदाता गन्तव्यमा पुग्नुपर्ने भएकाले अहिले यात्रुको भीडभाड बढेको हो ।
वायु सेवा सञ्चालक सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले निर्वाचनको सन्दर्भमा आन्तरिक उडानमा केही चाप बढेको बताउनुभयो । उहाँका अनुसार निर्वाचनको अघिल्ला दिन मङ्सिर १, २ र ३ गते तथा मतदानपछि मङ्सिर ५ र ६ गते उडानको चाप बढी हुने अनुमान गरिएको छ ।
निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स, गुण एयरलाइन्सलगायत कम्पनीमा उडान चाप छ ।
मतदान हुने दिन मङ्सिर ४ गते आन्तरिक उडानतर्फ नियमित उडान नहुने विमानस्थल कार्यालयले जनाएकाे छ । उक्त दिन अत्यावश्यक र चार्टड उडान मात्रै हुने कार्यालयको भनाइ छ ।