मुस्ताङमा सालो–भेनाकै प्रतिस्पर्धा
मुस्ताङ, ३० कार्तिक । मङ्सिर ४ गते हुने चुनावमा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवार बीचको प्रतिस्पर्धाले जिल्लामा चुनावी राप बढ्न थालेको छ ।
विसं २०४७ पछि मुस्ताङमा कांग्रेसले तीनपटक र एमालेले दुईपटक संसदीय निर्वाचन जितेका छन् । प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचन र कांग्रेसका गण्डकी प्रदेश सदस्य योगेश गौचन प्रमुख प्रतिस्पर्धी हुनुहुन्छ । उहाँहरूबीच भने सानो भेनाको नाता पर्दो रहेछ ।
विसं २०७० को चुनावमा कांग्रेसका रोमी गौचन थकालीले कांग्रेसबाट बागी उठेका प्रेमलाई पराजित गर्दै निर्वाचित हुनुभएको थियो । विसं २०७४ मा एमाले प्रवेश गरेका प्रेमले रोमीलाई पछि पार्दै दोस्रो प्रयासमा संसद् छिर्नुभयो ।
विसं २०७० मा १३ मतले चुनाव जितेका गौचन २०७४ मा तुलाचनसँग ४८५ मतान्तरले पराजित हुनुभयो । गौचन २०५६ मा पनि मुस्ताङबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । २०७३ मा वाणिज्यमन्त्री बनेका रोमीका छोरा योगेश यसपालि उम्मेदवार बन्नुभएको छ ।
तुलाचन ६२ र योगेश २९ वर्षका हुनुहुन्छ । योगेश कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनाव लड्ने कान्छा उम्मेदवार समेत हुनुहुन्छ । रोमी र प्रेम मामा–फूपूका छोरा भएको बताइएको छ । थकाली संस्कारअनुसार उनीहरूबीच सोल्टीको साइनो छ । प्रेमलाई योगेशले भेना र प्रेमले योगेशलाई साला भनेर सम्बोधन गर्छन् ।
गत वैशाखको स्थानीय निर्वाचनमा मुस्ताङका पाँच स्थानीय तहमध्ये चार पालिकाको अध्यक्ष एमालेले जितेको छ भने एउटा पालिकाको अध्यक्ष र दुई उपाध्यक्ष कांग्रेसले जितेको छ । पालिका अध्यक्षको मतभार हेर्दा एमाले करिब चार सय मतले अगाडि छ भने उपाध्यक्षको मत हेर्दा करिब ५० मतले कांग्रेस अगाडि छ ।
विस २०७४ को चुनावमा जिल्लाको प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा सदस्यमा एमालेले जितेको थियो ।
अहिले तीन सिटका लागि १३ जना उम्मेदवार छन् भने १९,९५७ मतदाता छन् । राप्रपाका मानबहादुर विश्वकर्मा, राप्रपा नेपालका प्रवीणकुमार शेरचन, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शेरचन, सुरज लालचन र सुदेश शेरचन प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।
प्रदेशसभा क्षेत्र (१) मा एमालेका इन्द्रधारा विष्ट र कांग्रेसका नम्डु गुरुङ उम्मेदवार छन् भने (२) मा एमालेका चन्द्रमोहन गौचन, कांग्रेसका विकल शेरचन, राप्रपाका जेम्स हिराचन र राप्रपा नेपालकी कर्मडोल्कर गुरुङ उम्मेदवार हुनुहुन्छ ।
एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्न कांग्रेसले प्रदेशसभामा पनि ४० वर्ष मुनिका युवालाई चुनावी मैदानमा उतारेको छ । त्रिपन्न वर्षका एमालेका उम्मेदवार विष्टको प्रतिस्पर्धामा कांग्रेसले ३३ वर्षका गुरुङलाई उतारेको छ । एमालेका उम्मेदवार ५५ वर्षीय गौचनको प्रतिस्पर्धामा कांग्रेसबाट ३९ वर्षका शेरचन उत्रनुभएको छ ।
लामो समयदेखि राजनीतिमा क्रियाशील रहेको, विगतमा पनि चुनाव जितेको अनुभव, स्थानीय तहको मतपरिणाम र प्रभावशाली सङ्गठन जितको आधार भएको एमाले उम्मेदवार तुलाचनको भनाइ छ ।
राजनीतिक दलहरूले सभाको विकल्पमा घरदैलो र मतदाता भेटघाट तथा कार्यकर्ता परिचालनलाई चुनाव प्रचारको माध्यम बनाएका छन् । उम्मेदवारले चीनको सिमानामा रहेको कोरलानाका सञ्चालन गर्ने र त्यहाँ जोड्ने सडक पूर्वाधार तयार पार्ने मुद्दालाई प्राथमिकता दिएर भोट मागेका छन् ।