मोरङमा चिर्पट प्रहार गरी एक जनाकाे हत्या

मोरङ, ३० कात्तिक । मोरङमा चिर्पट प्रहार गरी एक यूवाकाे हत्या भएकाे छ ।

बुढिगंगा गाउँपालिका -५ बस्ने २४ वर्षीय राजेश सरदारले सोही गाउँपालिका -७ कमलपुर बस्ने २३ वर्षीय करण सरदारलाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा राजेशलाई प्रहरीले पक्राउ गरेको छ ।

बुढिगंगा गाउँपालिका-५ हातिमुढामा कात्तिक १८ गते साँझ उनीहरू बीच आपस बादबिबादमा राजेशले चिर्पट प्रहार गर्दा करण गम्भीर घाइते भएकाे खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय नेमुवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

गम्भीर घाइते करणको गोल्डेन अस्पताल बिराटनगरमा मंगलबार राति उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।