बेलायत पठाइदिन्छु भन्दै ११ लाख ठगी गर्ने बस्नेत मैतीदेवीबाट पक्राउ

काठमाडाैं, २ मंसिर । बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।

बेलायत पठाइदिन्छु भनी रु ११ लाख २० हजार ठगी गर्ने काठमाडौँको मैतीदेवी बस्ने सोलुखुम्बु थुलुङ गाउँपालिका–२ का ३३ वर्षीय तिलकबहादुर बस्नेतलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

काठमाडौंको पुतलीसडकस्थित रेडजोन फाउन्डेसन कन्सलटेन्सीका सञ्चालकसमेत रहेका बस्नेतले पीडितहरूलाई अमेरिका, बेलायतलगायतका देशमा भिसा उपलब्ध गराउने भन्दै प्रलोभनमा पारेर उक्त रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

उक्त कन्सलटेन्सीले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाबाट अनुमतिसमेत नलिई सञ्चालन गरेको पाइएपछि ठगी गरेको अभियोगमा सञ्चालक बस्नेतलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनको टोलीले पक्राउ गरेको हो ।

बस्नेतलाई ठगीसम्बन्धी कसुरमा आवश्यक अनुसन्धान कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको सो कार्यालयले जनाएको छ ।