प्रहरीकाे बर्दी लगाएर सुनका गरगहना लुटपाट गर्ने छ जना पेस्तोल सहित पक्राउ

काठमाडाैं, ८ मंसिर । काठमाडौं महानगरपालिका-१८ नरदेवीकाे सुन बनाउने कारखानामा प्रहरीकाे बर्दी लगाएर सुनका गहना चोरी गरेकाे अभियोगमा छ जना पेस्तोल सहित पक्राउ परेकाे छ ।
धादिङ खनियाबास गाउँपालिका-४ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-२ गैरीगाउँ बस्ने ३८ वर्षीय मनिला तामाङ समेत ६ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हाे ।
भारत घर भएका ३२ वर्षीय सेख मुस्तफा अली र ४५ वर्षीय गौतम माझीले संचालन गरेको उक्त कारखानाबाट गत कात्तिक २९ गते राति विभिन्न सुनका गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरूलाई काठमाडौंको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
साथै मनिला तामाङको डेरा कोठा तलासी गर्दा घटनामा प्रयोग भएको प्रदेश ३-०२-००१प ६२१७ नम्बरको मोटरसाइकल, घटनामा प्रयोग भएको पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली ४ राउण्ड सहितको म्याग्जिन, जर्सी र ज्याकेट सहितको प्रहरी पोशाक १ जोर, नियन्त्रित लागूऔषध फेनारगन १ सय ९७ एम्पुल, डाईजेपाम १ सय ९७ एम्पुल र नुफिन १ सय ९७ एम्पुल समेत फेला पारी प्रहरीले बरामद गरेर आवश्यक अनुसन्धान भइरहेकाे जनाएकाे छ ।