त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट श्रोत नखुलेको नगद सहित एक जना पक्राउ

काठमाडौं, ११ मंसिर । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानबाट श्रोत नखुलेको तथा भन्सार उद्‍घोष नगरेको नगद १३ लाख ८९ हजार रुपैयाँ सहित भारत घर भएका अकबाल अलीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बुद्ध एयरको उडानद्धारा विराटनगर जान लागेको अवस्थामा विमानस्थलमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा १ हजार दरको ४ सय ८४ थान र ५ सय दरको १ हजार ८ सय १० थान समेत गरी जम्मा १३ लाख ८९ हजार रुपैयाँ नगद सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका भारतिय नागरिक अकबाल अलीलाई प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।