सुकुम्बासी समस्या समाधान नगरी बस्तीमा डाेजर चलाउने उन्माद गलत: अध्यक्ष ओली

काठमाडौं, मंसिर १३ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले काठमाडौ महानगरका मेयर बालेन साहप्रति तिखाे टिप्पणी गर्नुभएको छ ।

काठमाडौंका मेयर साहले सुकुम्बासी बस्तीमा तमासा देखाएको टिप्पणी ओलीले गर्नुभएको हो ।

झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा निर्वाचित ओलीलाई सम्मान गर्न जनसांस्कृतिक महासंघले आयाेजना गरेकाे बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभयो ।

उहाँले काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा गरेको तमासा अनुचित रहेको बताउनुभयो ।

‘नकारात्मक ढंगले देश बन्दैन, सुकुमवासी बस्तीमा हेर्नुहाेस् त तमासा । त्यहाँ को थिए शत्रु ? नेपाली जनतालाई पराजित गरेर कस्ले जित्छ त्यहाँ ? समस्याकाे सही समाधान हुनुपर्छ । जनतालाई तर्साउने काम गलत हाे ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘एउटा सुख- सयलमा बसेको मान्छेले सुकुम्बासीकाे समस्या बुझ्दैन । उन्माद छ, यस्तो उन्माद बेठिक हाे । याे सरकारको पनि उन्माद हाे ।’

उहाँले एमाले नेतृत्वको सरकारका पालमा सुकुम्बासी समस्या समाधान गर्न आयाेग बनाएको उल्लेख गर्दै गठबन्धन सरकार बनेपछि त्याे त्यत्तिकै थन्किएको पनि आराेप लगाउनु भयाे ।