काभ्रेमा तीन महिनापछि पुनः रेबिज भेटियो, सतर्क रहन आग्रह

काभ्रेपलाञ्चाेक, १९ मंसिर । काभ्रेपलाञ्चाेकमा तीन महिनापछि पुनः रेबिज रोग देखापरेको छ ।

काभ्रेपलाञ्चाेक जिल्लाको दक्षिणी क्षेत्र डाँडापारिस्थित महाभारत गाउँपालिकाको पशुमा रेबिज रोगको सङ्क्रमण देखिएको हो । यसअघि गत भदौमा भुम्लु गाउँपालिकामा रेबिज रोगका कारण एक महिनाको अवधिमा चार दर्जनभन्दा बढी पशुचौपायाको मृत्यु भएको थियो ।

महाभारत गाउँपालिकामा मरेका दुई गाईमा रेबिज रोग पुष्टि भएपछि स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ । केही दिनअघि महाभारत–१ गोकुले र ८ नं वडास्थित घर्तीछापमा कुकुरको टोकाइबाट दुई गाई मरेका थिए ।

वडा अध्यक्ष कान्छामान जिम्बाका अनुसार कुकुरले टोकेका गाईको मृत्यु भएपछि परीक्षण गर्दा रेबिज रोगबाट मरेको पुष्टि भएको हो । जिम्बाले गाउँपालिकाको कुनै स्थानमा शङ्कास्पद कुकुर देखिएमा नियन्त्रण गर्न तथा वडा वा गाउँपालिकाको कार्यालयमा तत्काल जानकारी गराउन आग्रह गरिएको बताउनुभयो ।

उहाँले आवश्यकताअनुसार रेबिजविरुद्धको सुईको व्यवस्थापन गरी तत्काल शिविर सञ्चालन गरिने जानकारी दिनुभयो । गाउँपालिकामा देखिएको रेबिज रोगप्रति जिल्ला स्वास्थ्य कार्यालय र जिल्लास्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आवश्यक अनुसन्धान तथा आवश्यक सामग्री सहयोगको व्यवस्थापन भइरहेको जनाएका छन् ।

कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाईंले महाभारतमा थप रेबिज फैलन नदिन केन्द्रसँगको समन्वयमा तत्काल ‘एक्सन’मा जाने बताउनुभएको छ । केन्द्रका पशु चिकित्सक राजकुमार हुमागाईले पनि महाभारतमा देखिएको रेबिज रोग थप फैलन नदिन तथा रोकथामका उपाय अपनाइने बताउनुभयो ।

यसअघि गत भदौमा भुम्लु गाउँपालिकाको १ नं वडास्थित सापिङ, कात्तिके, आरनगाउँ, भारतीगाउँ, गैराटोल, बोक्से र खोलमबारीका २८९ जनालाई स्वास्थ्य कार्यालयले रेबिजविरुद्ध खोप लगाइएको थियो ।

स्थानीय १९ परिवारका ५१ जनाले कुकुरले टोकेर मरेका भैँसी तथा खसी, बोका काटेर मासु खाएपछि अन्य शङ्कास्पद व्यक्तिलाई खोप लगाउनुपरेको थियो । त्यतिबेला एक महिनाको अवधिमा करिब चार दर्जनभन्दा बढी पशुचौपाया मरेको तर कुनै मानवीय क्षती नभएको केन्द्रले जनाएकाे छ ।

शतप्रतिशत प्राणघातक मानिएको उक्त रोगबाट छिमेकी गाउँपालिका चौँरीदेउराली–६ मा गत वर्ष एक महिनाको अवधिमा एक आठ वर्षीय बालक र दुई पुरुषको मृत्यु भएको थियो । त्यसयता काभ्रेमा रेबिजका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ ।

रेबिज लागेको कुकुर तथा अन्य जनावारले मानिसलाई टोकेमा मृत्यु निश्चित हुन्छ । चिकित्सकका अनुसार राम्रोसँग पकाएर खाएको मासु, उमालेर खाएको दूधबाट रेविज सर्दैन ।

नेपालमा बर्सेनि दुई सय बिरामीको रेबिजका कारण मृत्यु हुने गरेको तथ्याङ्क छ ।