प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सकियो, कुन दलको अवस्था कस्तो ?

काठमाडौं, १९ मंसिर । मंसिर ४ गते सम्पन्न निर्वाचनको प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत गणना सकिएको छ । सोमबार दोलखामा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएसँगै १ सय ६५ वटै निर्वाचन क्षेत्रको मत गणना सकिएको हो ।
सार्वजनिक अन्तिम मत परिणाम अनुसार नेपाली कांग्रेसले ५७ सिट जितेर पहिलो दल बनेको छ भने नेकपा (एमाले) ले ४४ सिटसहित दोस्रो दल बनेको छ । त्यसैगरी नेकपा माओवादी केन्द्र १८ सिट जितेर तेस्रो दल बनेको छ ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेकपा एकीकृत समाजवादीले १० सिट जितेको छ । यस्तै जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर सात सात सिट जितेका छन् । यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक–एक सिट र स्वतन्त्रले ५ सिट जितेका छन् ।
समानुपातिकतर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । समानुपातिकतर्फको मत गणनामा नेकपा एमाले सबैभन्दा धेरै मत ल्याएर पहिलो बनेको छ । सोमबार बिहानसम्मको गणनामा एमालेले २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ भने कांग्रेसले २६ लाख ६० हजार २४६ मत पाएको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३,जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ मत ल्याएको छ ।
जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले २ लाख ९४ ३६२ मत ल्याए पनि थ्रेस होल्ड कटाउन सकेको छैन ।
संसद्मा १२ दलको प्रतिनिधित्व भए पनि थ्रेसहोल्डका कारण यी मध्ये ७ दलले मात्र राष्ट्रिय दलको मान्यता पाउने सम्भावना देखिएको छ ।