रातारात लुम्बिनी प्रदेश कार्यालयको सामान दाङ तिर सारियाे

रुपन्देही, २० मंसिर । लुम्बिनी प्रदेशको स्थायी राजधानी रातारात दाङ सारिएको छ । अस्थायी मुकामका रुपमा बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका फर्निचर लगायत सामानहरू रातारात दाङ पुर्याइएको छ ।

स्थायी पूर्वाधार बनाएर मात्र राजधानी सार्नु पर्ने, त्यसमा पनि नयाँ बन्ने सरकारले मात्र सार्नुपर्ने रुपन्देहीका नेताहरूले माग गर्दै आएपनि रातको समयमा तीन वटा ट्रकमा सामानहरू लोड गरी राति नै दाङ पुर्याइएको हो ।

यसअघि नेपाली कांग्रेस रुपन्देहीले मुख्यमन्त्री कार्यालयमै पुगेर स्थायी पूर्वाधार नबनेको अवस्थामा तत्काल मन्त्रालयहरू नसार्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको थिए भने नेकपा एमाले रुपन्देही र एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित चार सांसदहरु संरचना तयार नहुँदै मन्त्रालय नसार्न आग्रह गरेका थिए ।

दाङमा पूर्वाधार निमार्ण गर्ने काम पनि तीब्र रुपमा गरिएको छ । लुम्बिनी प्रदेशको राजधानी लेखिएको बोर्ड समेत तयार गरेर टाँगिएको छ ।

साविक राप्ती प्राविधिक शिक्षालयले प्रयोग गर्दै आएका भवनको सामान्य मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाएको छ भने अन्य मन्त्रालयहरू पनि अन्य भवनमा सार्ने तयारी छ।

अहिलेसम्म मुख्यमन्त्रीको निवास, प्रमुख सचिवको निवास समेत तयार भएको छ। केही दिनभित्र औपचारिक कार्यक्रम गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कामकाज थाल्ने जनाएकाे छ ।