कैलालीमा भिनाजुकाे हँसिया प्रहारबाट एक जनाकाे हत्या, एकजना गम्भीर घाइते

कैलाली, २१ मंसिर । कैलालीमा भिनाजुले हँसिया प्रहार गर्दाएक जनाको हत्या भएको छ भने अर्का एकजना गम्भीर घाइते छन् ।

कैलालीको जोशीपुर गाउँपालिका–६ कुमारी बागका भिनाजु नाता पर्ने ५० वर्षीय गौरीलाल ढुङ्गानाकाे हँसिया प्रहारबाट ३३ वर्षीय पदमराज भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हँसिया प्रहारबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि टिकापुर अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

हँसिया प्रहारबाट अर्का ४० वर्षीय जयराज भण्डारी गम्भीर घाइते भएका छन् । उनको टीकापुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर रेफर गरिएको छ ।

हँसिया प्रहार गर्ने गौरीलाल ढुङ्गानाकाे खोजी कार्य भइरहेको प्रहरीले जनाएकाे छ ।