चुनाव पछि आज एमालेको पहिलो कार्यालय बैठक बस्दै

काठमाडौं, २१ मंसिर । चुनाव पछिको नतिजा आए लगत्तै नेकपा (एमाले) का विभिन्न तहका बैठक बस्ने तयारी शुरु भएको छ । यस क्रममा आज पार्टी केन्द्रीय कार्यालयको बैठक बस्दैछ ।

आज अपराह्न १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न थालेको जानकारी एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले दिनुभएको छ ।

आजको बैठकले निर्वाचनको समीक्षा गर्नुका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीको बैठक बस्नेबारे समेत छलफल गर्ने बुझिएको छ ।
निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका विभिन्न तहका बैठक बोलाउने तयारी पनि भइरहेको छ ।

नेकपा एमालेले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिटमा विजय हासिल गरेको छ । समानुपातिकतर्फ भने पार्टी पहिलो दल बनेको छ ।

चुनावको नतिजा आएपछि सरकार गठनबारे पनि एमालेले रुचि देखाएको बुझिएको छ । चुनावमा तेस्रो शक्ति बनेका माओवादी केन्द्रलाई आफूतर्फ तान्न सके एमाले सहितको सरकार बन्न सक्ने सम्भावनाबारे पनि एमालेभित्र गृहकार्य भइरहेको बताइएको छ ।

अब बस्ने विभिन्न तहका बैठकहरुमा चुनावको समीक्षाका साथसाथै सरकार गठनको सम्भावनाबारे पनि छलफल हुने स्रोतले बताएको छ ।