प्रचण्डको अस्थिर चरित्रबाट शसंकित कांग्रेस स्थिर सरकारका लागि एमालेको साथ खोज्दै

काठमाडौं, २३ मंसिर । मुलुकमा भर्खरै आम निर्वाचन सम्पन्न भएको छ । प्रत्यक्ष र समानुपातिकतर्फको सबै जिल्लाको अन्तिम परिणाम प्राप्त भैसकेको छ । अन्तिम परिणाम अनुसार नेपाली कांग्रेस सबै भन्दा ठूलो दल बनेको छ भने समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ । यद्यपि, यो निर्वाचनमा नेपाली कांग्रेस र एमाले क्रमशः पहिलो र दोस्रो दल बनेका छन् । अहिलेसम्मको अवस्था हेर्दा निर्वाचन अघि गठबन्धन गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा समाजवादीसहित मधेसबाट उदाएका सिके राउत नेतृत्वको दललाई पनि गठबन्धनमा सहभागी गराउँदा सरकार बनाउन पुग्ने संख्या देखिएको छ ।

निर्वाचन अघि पनि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक भन्ने गरेको ‘टालाटुली बाटुली’ सरकार निर्वाचनपछि पनि बन्ने हो भने त्यसले थप अस्थिरता ल्याउने भन्दै धेरैले अब बन्ने सरकारमा भ्यागुताको धार्नी पुर्याउने खेलमा लाग्न नहुने बहसलाई अघि ल्याउन थालेका छन् । त्यसो त नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदार जो एमालेकै उम्मेदवारसँग पराजित हुनुभयो । उहाँले समेत केही दिन अघि मात्रै विराटनगरमा पुगेर मुलुकमा राजनीतिक स्थिरता कायम गर्न ठूला दल मिलेर सरकार बनाउनुपर्ने बताउनु भयो ।

विगतमा राजनीतिक अस्थिरताकै कारणले मुलुकले धेरै क्षति व्यहोरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले स्थिर सरकारले मात्र देशमा समृद्धि आउने कुरामा जोड दिनुभयो । त्यो भनेको कांग्रेस र एमाले मिलेर स्थिर सरकार बनाउनुपर्छ भन्ने उहाँको धारण थियो । उहाँले २०४७ सालको उत्कृष्ट संविधान भएको भन्दै राजनीतिक अस्थिरताले गर्दा असफल भएको समेत उल्लेख गर्नुभयो । राजनीतिक स्थिरताका लागि नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाउनुपर्ने आफ्नो चाहना रहेको भन्दै उहाँले पाँच वर्ष सरकार निर्वाधरूपमा सञ्चालन भए हरेक समस्या समाधान हुँदै जाने दाबी पनि गर्नुभयो ।

गच्छदार मात्रै होइन एमाले स्वयं पनि स्थिर सरकारका पक्षमा उभिँदै आएको छ । एमाले महासचिव शंकर पोखरलले दुई पार्टी सिस्टमको वकालत नै गर्दै आउनु भएको छ । साना दलले सधै बार्गेनिङ मात्रै गर्ने भएकाले स्थिर सरकारका लागि कांग्रेस र एमाले मिल्नुपर्ने मत एमाले भित्र पनि देखिएको छ ।

एमालेका एक नेताले त कांग्रेसले दरिलो गरी खुट्टा टेक्ने हो भने एमालेले कांग्रेसलाई सरकार बनाउन दिएर समर्थन गर्ने बताउनुभयो । निर्वाचन लगत्तै एमाले अध्यक्ष ओलीसँग भेट गर्न कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह ओली निवास बालकोट पुग्नुभएको थियो । त्यसो त कांग्रेस र एमालेका केही उच्च नेता दुई दल मिलेर सरकार बनाउनु पर्ने पहलमा लागेको समेत बुझिएको छ । ती नेताहरुको एउटै भनाई छ– धेरै साना दललाई समेटेर जानुभन्दा दुई ठूला दल मिलेर पाँच वर्षलाई स्थिरता दिनका लागि पनि यो विकल्प सबै भन्दा उपयुक्त हुन्छ ।

‘कांग्रेसले पाँचै वर्षका लागि सरकार बनाओस् भन्ने हाम्रो चाहना छ,’ एमालेका एक नेताले भन्नुभयो, ‘राजनीतिक स्थिरताका लागि कांग्रेसकै सरकार उपयुक्त विकल्प हो त्यसमा हाम्रो पूर्ण समर्थन रहन्छ ।’ उहाँका यी भनाई पनि यी दुई दलबिच सहकार्य हुने कुरालाई अस्वीकार गर्ने अवस्था छैन । त्यसो त कांग्रेस भित्रै पनि प्रचण्डको अस्थिर स्वाभावलाई अझै पाँच वर्ष बाेकेर हिड्नु भनेको देशलाई थप अस्थिरतातर्फ लैजानु हो भन्ने मत पनि बलियो बन्दै गएको छ ।

कांग्रेसका एक नेताले त माओवादीलाई अब पनि कांग्रेसले बोकेर हिँड्नु भनेको देशलाई थप अस्थिरतातिर लैजानु र कांग्रेसलाई कमजोर बनाउनु भन्ने तर्क पेश गर्नुभयो । उहाँले प्रचण्ड अहिले जसरी पनि प्रधानमन्त्री बन्ने खेलमा लागेको र कांग्रेसको समर्थनमा प्रधानमन्त्री नबनेको अवस्थामा कुनै पनि बेला गठबन्धन तोड्न सक्ने दाबी गर्नुभयो । ‘केही दिन अघि मात्रै माओवादीले सरकार गठनका लागि सबै विकल्प खुला गर्ने भनेको प्रचण्डले प्रधानमन्त्री बन्ने अवस्थामा गठबन्धन पनि तोड्न सकिन्छ भनेको हो,’ ती नेताले भन्नुभयो, ‘माओवादी विश्वास गर्ने पार्टी होइन । अझ प्रचण्ड जस्तो अस्थिर नेतासँग अब पनि कांग्रेसले गठबन्धन गरेर अघि जाने कुरा उपयुक्त छैन । बरु एमालेसँग सहकार्य गरेर अघि बढ्दा हुन्छ भन्ने हाम्रो मत छ ।’