समानुपातिक सांसद छनोट र आमनिर्वाचन समीक्षाका लागि एमाले बैठक मुख्यालयमा
काठमाडौँ, २४ मंसिर । थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दलले आ–आफ्नो भागमा परेको १ सय १० समानुपातिक उम्मेदवार छनोट गरी आज चार बजेसम्ममा निर्वाचन आयोगलाई बुझाउनु पर्ने छ । त्यसकारण समानुपातिक उम्मेदवारहरुको नाम टुंग्याउन राजनीतिक दलहरु अन्तिम छलफलमा जुटेका छन् । समानुपातिकमा सबै भन्दा बढी सांसद नेकपा (एमाले)ले पाएको छ ।
एमालेको भागमा ३४ सांसद परेका छन् । जसअनुसार उसले ११ जना खस आर्य र आदिवासी जनजातिबाट १०, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट एकएक जना पठाउनुपर्नेछ । त्यसो त ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट जम्मा गरेर १९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ भने १५ जनामा मात्रै पुरुष पठाउनु पर्ने छ । ३४ जना सांसदको नाम फाइनल गर्न एमालेको आज मुख्यालयमा सचिवालय बैठक बस्दै छ ।
बैठकले समानुपातिक सांसद छनोटसँगै आमनिर्वाचन समीक्षा पनि गर्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम बुझाउनका लागि आज ४ बजेसम्मको समय दिएका कारण पनि त्यो समय भित्रै अन्य दलले पनि नाम आयोगमा पठाउनु पर्ने छ । आजै अन्य दलले पनि बैठक बनाएका छन् ।
समानुपातिकमा दोस्रो दल नेपाली कांग्रेसले ३२ सीट प्राप्त गरेको छ । कांग्रेसले पनि सबैभन्दा बढी खस आर्यबाटै १० जनाको नाम पठाउँदैछ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १–१ जनाको नाम पठाउनुपर्नेछ । कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ ।
माओवादीको भागमा १४ सीट र स्वतन्त्र पार्टीको भागमा १३ सिट छ । उनीहरुले पनि आजै नाम पठाउने छन् ।