भक्तपुरबाट विश्वकप फुटबलमा सट्टेबाजी गराएको आरोपमा २ जना पक्राउ

भक्तपुर, ३ पुस । कतारमा जारी विश्वकप फुटबलको सट्टेबाजी गराएको आरोपमा भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले भक्तपुर नगरपालिका–१६ घर भएका सुनिल चौगुठी र भक्तपुर नगरपालिका–१२ घर भएका अजय भेलेलाई पक्राउ गरेको हाे ।

अपराध अनुसन्धान कार्यालयका प्रवक्ता कृष्ण कोइरालाले ‘अनलाइन बेटिङ’ मा उनीहरूले गरेको आर्थिक कारोबारबारे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।

अनुसन्धानबाट सुनिल चौगुठीले ३ करोड भन्दा बढीको कारोबार गरेको खुलेकाे छ ।

यसअघि सट्टेबाजी धन्दामा संलग्न पाल्पाका रुद्र प्रसाद पोखरेल र भारतीय नागरिक पवन कुमार शर्मा सहित ४ जनालाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर मुद्दा चलाइसकेकाे छ ।