तनहुँको व्यासमा श्रम तथा रोजगार शाखा स्थापना गरिँदै
तनहुँ, ४ पुस । तनहुँको व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गर्ने भएको छ । नगरपालिकाले पहिलोपटक वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई लक्षित गरी शाखा विस्तार गर्ने तयारी गरेको हाे ।
वैदेशिक रोजगारीमा जाने नेपालका जिल्लामध्ये १८औं नम्बरमा तनहुँ पर्दछ । व्यास नगर प्रमुख वैकुण्ठ न्यौपानेले अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आइतबार वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिसँगको अन्तक्रिया कार्यक्रममा व्यासमा श्रम र रोजगारसम्बन्धी शाखा स्थापना गरिने जानकारी दिनुभयो ।
आगामी नगरसभाबाट पारित गरी कार्यान्वयनमा ल्याउने गरी तयारी भएको उहाँले बताउनुभयो ।
“अब हुने नगरसभाबाट पारित गरी व्यास नगरपालिकामा श्रम तथा रोजगार शाखा स्थापना गरिनेछ ।
वैदेशिक रोजगारसम्बन्धी जोडिएका श्रम र रोजगारसँग सम्बन्धित रिटर्नीको समस्या, उनीलाई स्वरोजगारसँग जोडी आत्मनिर्भर र उद्यमशील बनाउने काम सोही शाखाले गर्नेछ”, उहाँले भन्नुभयो । युवालाई उद्यमशील बनाउन यस आर्थिक वर्षमा नगरपालिकाले रु ५० लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।
‘वैदेशिक रोजगारीबाट प्राप्त सीप, पुँजी र ज्ञान उद्यमशीलता, रोजगारी र राष्ट्रिय स्वाभिमान’ भन्ने नाराका साथ व्यास नगरपालिकाद्वारा आयोजित उक्त अन्तक्र्रियामा व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सीप नसिकी कोही पनि वैदेशिक रोजगारीमा जान नहुने बताउनुभयो । “सीप नसिकी, दक्षता हासिल नगरी, नबुझी विदेश जाने दाजुभाइले धेरै दुःख पाउनुभएको छ”, उहाँले भन्नुभयो, “त्यसैले सीप सिकी दक्ष बनी विदेश जानुपर्दछ ।”
सामी कार्यक्रमका गण्डकी प्रदेश संयोजक शैलेन्द्र मिश्रले वित्तीय व्यवस्थापन, सम्बन्धित देशको भाषा, मौसम तथा कानुनजस्ता विषयमा जानकारी, सही र भरपर्दो रोजगार व्यवसायीको छनोट, स्वास्थ्यसम्बन्धी सचेतना र पारिवारिक व्यवस्थापन गर्न आवश्यक रहेको बताउनुभयो ।