सार्वजनिक जग्गा खोज्दै वीरगञ्ज महानगर

वीरगञ्ज, ४ पुस । वीरगञ्ज महानगरपालिकाले नगर भित्र रहेका सार्वजनिक तथा ऐलानी जग्गा खोजी गर्न सुरु गरेको छ ।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुग्न थालेको हो ।

 

सोमबार वडा नम्वर १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा पुगेको टोलीले त्यहाँ अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजाँच गरेको छ । जनप्रतिनिधिले नै कब्जा गरेको सार्वजनिक जग्गा छुट्याउन नापजाँच गरेर महानगरले सार्वजनिक जग्गा खोजी अभियानको थालनी गरेको हो ।

सोमबार महानगरको टोलीले वडा नम्वर १७ का वडासदस्य अमोद यादवले अतिक्रमण गरेर भोगचलन गर्दै आएको वडा नम्वर १९ कोनियाँमा पर्ने सार्वजनिक जग्गा आफ्नो अधिनमा ल्याउन नापजाँच गरेको हो ।

यादवले आफ्नो नाममा रहेको ७ कट्ठा जग्गाको आडैमा रहेको ४ विघा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको वडा नम्वर १९ का वडाध्यक्ष मुकेश कुमार चौरसियाले बताए ।

वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान चलाउनुभएको हो । अहिले महानगरसँग आफ्नो क्षेत्रमा रहेका सार्वजनिक जग्गा कति छ भन्ने कुनै पनि तथ्यांक छैन । तथ्यांक नहुँदा काम गर्न कठिनाई भएकाले महानगरले आफ्नो सीमा भित्र रहेका सार्वजनिक सम्पत्ति संरक्षण गर्न जग्गा खोजि अभियान अघि बढाइएको नगरप्रमुख सिंहले बताउनुभयो ।