गगनलाई कांग्रेस सांसदहरुले नै पहिला उचाले र पछि थचारे !

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं क्षेत्र नम्वर ४ बाट उम्मेदवार बन्दै गर्दा कांग्रेसका भावी संसदीय दलको नेता र प्रधानन्त्री बन्नेसम्मलाई चुनावी एजेण्डा बनाउनु भएको थियो ।

कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा विजयी भएपछि त उहाँले झन आफ्नो महत्वकांक्षालाई बढाउँदै आउनु भएको थियो । यतिसम्मकी उहाँले आफूले अब १० वर्ष मात्रै सक्रिय राजनीति गर्ने भन्दै चुनावका बेला पनि मतदाताको ‘सेन्टिमेण्ट’ लिन भ्याउनु भएको थियो ।

अझ गज्जब त के भने मंसिर ४ गते सम्पन्न निर्वाचनमा थापाले मतदानपछि संक्षिप्त प्रतिक्रिया दिदैँ काठमाडौं ४ को मत परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय लिने भन्दै त्यसको तयारीमा आफू लागेको जानकारी नै दिनुभएको थियो ।

सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको मात्रै होइन थापाले निकै आत्मविश्वासका साथ भन्नुभएको थियो– ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो भन्ने संकल्प भएको व्यक्तिलाई पनि निर्वाचित गरेर पठाउने हो ।’

सांसद भएपछि संसदीय दलको चुनाव लड्ने आफ्नो योजना रहेको मात्रै होइन थापाले निकै आत्मविश्वासका साथ भन्नुभएको थियो– ‘मत परिणामले यो क्षेत्रको सांसद दिने मात्र होइन, संसदीय व्यवस्थाभित्र ड्राइभिङ सिटमा बसेर देश हाँक्ने हो भन्ने संकल्प भएको व्यक्तिलाई पनि निर्वाचित गरेर पठाउने हो ।’

थापाका यी आत्मविश्वासी अभिव्यक्ति झट्ट सुन्दा निकै साहसिक जस्ता देखिएका थिए । अनि त्यसैबेला कांग्रेस भित्र पुस्तान्तरणको बहसमा गगनको प्रयासको धेरैले प्रशंसा समेत गरेका थिए । नभन्दै १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचितसँगै कांग्रेसको शक्तिमा उदाउनु भएका गगनले संसदीय दलको नेता बन्ने आफ्नो प्रतिवद्धता अनुसार नै तयारीलाई तिव्र पनि बनाउनुभयो ।

मंसिर ४ को निर्वाचनमा कांग्रेसले प्रत्यक्षमा ५७ सीट जितेको थियो । समानुपातिकमा जितेको ३२ गरी कांग्रेससँग कुल सांसद संख्या ८९ पुगेको थियो । जितको संख्यालाई मोटामोटी हिसाव गर्दा प्रत्यक्षतर्फ देउवा पक्षका २९ जना सांसद निर्वाचित हुँदा शेखर–गगन समूहबाट जम्मा १८ जना मात्रै निर्वाचित भएका थिए । रामचन्द्र–शशांक समूहबाट ६ जना र प्रकाशमान समूहबाट ४ जना विजयी भएका थिए । समानुपातिकतर्फ पनि देउवाकै वर्चश्व रहेपछि संसदीय दलको नेतामा देउवा चुनिने निश्चित जस्तै थियो ।

यद्यपि, देउवासँग दलको नेता बन्ने गणित बलियो हुँदाहुँदै पनि कांग्रेस संसदीय दलको निर्वाचनको अघिल्लो दिनसम्मको अवस्थालाई हेर्दा संसदीय निर्वाचनमा स्वतन्त्र पार्टीको माहोल आए जस्तै थापाको पक्षमा माहोल आउने हो कि भन्ने अनुमानसहित त्यो कोणबाट पनि विश्लेषण सुरु भएको थियो ।

देउवा सभापति भएको पहिलो कार्यकालमा प्रवत्ताको जिम्मेवारीमा रहनु भएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले समेत गगनलाई संसदीय दलको नेता बनाउने आश्वासन दिएपछि थप हौसिनु भएका थापालाई पछिल्लो समय युवा नेता प्रदीप पौडलहरुको पनि साथ मिलेको थियो । त्यसपछि झन् थापाको आत्मविश्वास चुलिएको थियो ।

यतिसम्म कि गगनले देउवालाई उम्मेवारी फिर्ता लिन आग्रह समेत गर्नुभएको थियो । तर, आज भएको संसदीय दलको नेता छान्ने निर्वाचनमा थापा ३९ भोटले देउवासँग पछि पर्दै पराजित हुनुभयो । त्यो परिणामसँगै उहाँको ती सबै योजना धूलिसात मात्रै भएनन् । उहाँलाई संसदीय दलको नेता बनाउने भन्दै उचालेका सांसदहरुले समेत उहाँलाई उठ्नै नसक्ने गरी थचारिदिएका छन् ।

कांग्रेस भित्र फोहारी खेल खेल्न माहिर बुढा पुस्ताका नेताले समेत थापालाई संसदीय दलको नेताको हरियो घाँस देखाएका थिए । तर, ती बुढा पुस्ताका नेताको राम्ररी नाडी छाम्ने ल्याकत राख्ने देउवा यो खेलमा पनि सफल हुनुभएको छ र अन्तिममा थापा स्वयं पनि ‘माछोमाछो, भ्यागुतो’ भने जस्तै नराम्रोसँग पराजयको भारी बोक्न बाध्य हुनुभएको छ ।

यता थापाको समर्थन गरेका पौडेलले संसदीय दलमा पराजित भए पनि पुस्तान्तरणको बहस कांग्रेस भित्र कमजोर नबन्ने बताउनुभयो । तर, देउवा पक्षका एक सांसद भने अहिले नै थापाको संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने चाहनालाई आलोकाँचो शैलीको संज्ञा दिनुहुन्छ । ‘उहाँले संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने महत्वकांक्षा राख्नुभयो,’ ती सांसदले भन्नुभयो, ‘उहाँलाई केही नेताहरु र अन्यले उफार्नु भयो उहाँ पनि उफ्रिनु भयो । तर, मेरो बेला भएको छैन भन्ने उहाँले हेक्का नै राख्नुभएन ।’