फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, ६ पुस । फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई जेलमुक्त गर्न सर्वोच्च अदाललते आदेश दिएको छ । शोभराजलाई जेलमुक्त गरी १५ दिनभित्र आफ्नै देश फ्रान्स फर्काउन अदाललते आदेश दिएको हाे।

जेलमा रहेकाे ६५ वर्षभन्दा माथि भएका जेष्ठ नागरिकले ७५ प्रतिशतभन्दा बढी सजाय काटिसकको अवस्थामा कैद सजाय छुट दिन सकिने व्यवस्थाअनुसार सर्वोच्चले उनलाई जेल मुक्त गर्न आदेश दिएको हो।

उनी मुटु रोगबाट पीडित उनी छन् । ७८ वर्षका शोभराजलाई जबर्जस्ती करणी गरी हत्या गरेको अभियोगमा भक्तपुर जिल्ला अदाललते २०६० असोज २ गतेदेखि २०८० असोज १ गतेसम्म कैदमा राख्न आदेश दिएको थियो।

नियमित अवस्थामा १० महिना मात्रै कैद सजाय भुक्तान गर्न बाँकी रहेको अवस्थामा बुधबार न्यायाधीश सपना प्रधानमल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरेका हुन्।

आदेशमा उल्लेख गरिएको छ, ‘निजलाई निरन्तर कैदमा राखीराख्नु कैदी बन्दीको मानव अधिकार मापदण्ड, संविधान तथा कानून प्रदत्त अधिकार अनुकूल देखिएन। बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ। अन्य मुद्दामा थुनामा रहेका निजलाई आजै कैदबाट छाडी दिन तथा यो आदेश भएको १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिएको छ।’

सुन्धाराको कारागारमा रहेका शोभराजले गत मंसिर ९ गते आफूलाई जेष्ठ नागरिकले पाउने सुविधा दिन निवेदन दिएका थिए।