नक्कली विवरण पेस गरी म्यानमारका नागरिकले लिए नेपाली नागरिकता

काठमाडाैं, ९ पुस । म्यानमारका एक नागरिकले नक्कली विवरण पेस गरी नेपाली नागरिकता लिएको पाइएको छ ।

म्यानमारबाट आएका एक नागरिकले झुटा विवरण पेस गरी सर्लाहीमा बसेर नेपाली नागरिकता लिएकाे पाइएकाे हाे ।

उक्त विदेशी नागरिकले सर्लाहीको एक मदरसामा पठनपाठन गराउँदै आएको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार झुटा विवरण पेस गरी सर्लाहीको साविक त्रिभुवननगर गाविस–१ ठेगानामा ३९ वर्षीय मोहमद नुर आलमले नागरिकता लिएकाे पाइएकाले काठमाडौंको कलङ्कीबाट पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको जनाइएकाे छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सन् २०१२ मा म्यानमारबाट बङ्गलादेश हुँदै नेपाल आई सर्लाहीस्थित साविक त्रिभुवननगर गाविस–१ मा बसी मदरसामा पढाउँदै आएका म्यानमारका नागरिक आलमले झुठा विवरण पेस गरी नेपाली नगरिकता लिएको पाइएको हाे ।

सोही नागरिकताको आधारबाट उनले राहदानी विभाग काठमाडौंबाट राहदानीसमेत प्राप्त गरेको खुल्न आएको छ ।

आलमलाई लिखतसम्बन्धी कसुरमा थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको कोइरालाले बताउनुभयो ।