३३ वर्षपछि टोखामा नवदुर्गा नाच

टोखा, १० पुस । भक्तपुरको प्रशिद्ध नवदुर्गा नाच टोखामा प्रदर्शन गरिएको छ । गत ३३ वर्षदेखि टोखामा यो नाच प्रदर्शन भएको थिएन । ३३ वर्षपछि टोखा नगरपालिका र नाच व्यवस्थापन समितिको संयुक्त प्रयासमा गएको सातादेखि यो नाच पुनः प्रदर्शन गरिएको हो ।

भक्तपुरबाट हरेक वर्ष नवदुर्गा नाच काठमाडौं, बनेपा, दोलखा आदि लगायत विभिन्न ठाउँमा प्रदर्शन गर्ने परम्परा छ । टोखामा पनि हरेक वर्ष यो नाच देखाउने परम्परा रहे पनि वि.सं २०४६ सालमा भएको एउटा घटनाका कारण त्यसपछि यो नाच बन्द भएको थियो ।

२०४६ सालमा नाच प्रदर्शन गर्ने क्रममा टोखाका केही स्थानीय व्यक्तिहरूले नवदुर्गा देवगणका मानिसहरूलाई कुटपिट गर्नुका साथै दुव्र्यवहार गरेका कारण त्यसपछिका वर्षदेखि यो नाचको प्रदर्शन बन्द भएको थियो ।

बन्द भएको नाच पुनः सुचारु गर्न विभिन्न व्यक्ति एवं संस्थाहरुले प्रयास गरेको भए पनि त्यो सफल भने हुन सकिरहेको थिएन । पहिले गाविस रहेको टोखा अहिले नगरपालिका बनिसकेपछि टोखा नगरपालिकाकै पहलमा पुचः नाच सञ्चालन गर्न थालिएको हो ।

नाच प्रदर्शन गर्न नवदुर्गा देवगण सबैजना पैदल नै टोखा पुगेका थिए । साथै उहाँहरूको मुखौटा, बाजागाजा, पोशाक आदि पनि खर्पनमा राखी पैदलै टोखा पुर्याइएको थियो ।
टोखामा यो नाच एक सातासम्म प्रदर्शन गर्ने परम्परा रहिआएको छ । टोखाको सपन तीर्थ, गणेशस्थान, चपली, दुपिया, चुनिख्यः आदि क्षेत्रमा यो नाच देखाइन्छ । एक साताको नाच पछि देवगण पुनः भक्तपुर नै फिर्ती हुने गरिन्छ । आज टोखामा नवदुर्गाको ‘न्या लाकेगु’ जात्रा गरी जात्रा समापन गरिनेछ ।

यो नवदुर्गा नाच भक्तपुरबाट निकालिने भए पनि यो भक्तपुर मातहत रहेका चाँगु, साँखु, साँगा, नाला, धुलिखेल, बनेपा, पनौति, दोलखा र त्रिशुलीमा समेत प्रदर्शन गर्ने परम्परा छ । भक्तपुर नगर भित्र मात्रै विभिन्न २१ ठाउँमा यो नाच प्रदर्शन गरिन्छ ।

३३ वर्षपछि टोखामा पुनः नाच प्रदर्शन गर्न सक्नुलाई टोखावासीले हर्षको विषय रहेको बताएका छन् । नवदुर्गा देवगणलाई टोखावासीले हर्ष उल्सापूर्वक स्वागत गरेका थिए ।