अन्तिम छलफलका लागि गठबन्धनका तीन दल बालुवाटारमा

काठमाडौं, १० पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आज अपराह्न ५ बजेसम्मको समय दिनुभएको थियो ।

त्यो समयसीमा सकिन केही घण्टा मात्रै बाँकी रहँदा सत्ता गठबन्धन अन्तिम सहमतिका लागि बालुवाटारमा जुटेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार अहिले नेताहरुबीच छलफल जारी छ ।

उहाँका अनुसार बालुवाटारमा तीन नेता छुट्टै छलफलमा छन्।‍ सबै भन्दा ठूलो दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको गठबन्धन मात्रै पनि सरकार गठनको गणितमा कठिन भैरहेका बेला तेस्रो ठूलो दल माओवादी केन्द्रले प्रधानमन्त्री पद आफूले नपाए गठबन्धन नै टुटाउने धम्की दिएपछि राष्ट्रपतिले दिएको समयसिमा भित्र नयाँ सरकार गठनमा सकस हुँदै गएको छ । सत्ता गठबन्धनको बैठक थाँती राखेर बालुवाटारमा तीन नेता छुट्टै छलफलमा जुटेका छन् भने यस अघि दुबै दलका नेताहरुले आन्तरिक छलफल गरेका थिए ।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच छलफल भइरहेको छ । शनिबारको बैठकमा २–२ वर्ष कांग्रेस र माओवादी केन्द्र र १ वर्ष नेकपा (एकीकृत समाजवादी) ले सरकारको नेतृत्व गर्ने सम्झौता भए पनि आलोपालोमा कस्ले कस्ले पहिला नेतृत्व गर्ने भन्ने विषयमा कुरा मिल्न सकेको छैन ।