काठमाडौंको चाक्सीबारीबाट अवैध लागूऔषध ५ किलो कोकिन सहित युक्रेनी नागरिक पक्राउ
काठमाडौं, १० पुस । काठमाडौं महानगरपालिका(२६ चाक्सीबारीबाट अवैध लागूऔषध कोकिन सहित युक्रेनी नागरिक पक्राउ परेका छन् ।
चाक्सीबारीस्थित होटल बुद्ध प्रालिको कोठा नम्बर ३ सय ३ बाट अवैध लागूऔषध ५ किलो ६ सय ग्राम कोकिनसहित युक्रेनी नागरिक ३२ वर्षीया डरिया एन्टोन्एन्कोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । साथै उनको साथबाट आईफोन १ थान, ब्राजिलियन सिमकार्ड, वोर्डिङ पास ३ थान, दुवई कस्टमर रिलेशन डिपार्टमेण्ट फारम १ थान, ३ सय अमेरिकन डलर, ४ सय ८० थाई भाट र ५ हजार नेपाली रूपैयाँ प्रहरीले बरामद गरेको छ ।
थप अनुसन्धानको क्रममा उक्त लागूऔषध कारोबारमा संलग्न थाई नागरिक २५ वर्षीया आरिया फोनकलाई समेत बिहीबार प्रहरीले पक्राउ गरेको छ ।