टि ट्वान्टी क्रिकेट लिगमा काठमाडौँ नाइट्स चार विकेटले पराजित

काठमाडौं, ११ पुस । राजधानीमा जारी पहिलो संस्करणको नेपाल टि ट्वान्टी क्रिकेट लिगमा फार वेस्ट युनाइटेड विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा फार वेस्टले काठमाडौँ नाइट्सलाई चार विकेटले पराजित गर्दै विजेता बनेकाे हाे ।

यसअघि भएको पहिलो खेलमा फार वेस्ट लुम्बिनी अल स्टार्ससगँ ६७ रनले पराजित भएको थियो । काठमाडौँले दिएको ९९ रनको लक्ष्य फार वेस्टले १९ दशमलव एक ओभरमा छ विकेट गुमाएर पूरा गर्यो ।

फार वेस्टको जितमा कप्तान हस्मतुल्लाह साहिदीले अविजित ५० रनको योगदान दिए । उनले ४९ बल खेल्दै दुई छक्का र तीन चौकाको मद्दतमा ५० रन जोडेका हुन् । त्यसैगरी देव खनालले १७ रन जोड्दा भीम सार्कीले ११ रन बनाए । विनोद भण्डारीले चार तथा उमर अलीले एक रन जोडे ।

बलिङतर्फ काठमाडौँ नाइटसका अनिल खरेलले दुई विकेट लिए भने अविनाश बोहोरा, बसिर अहमद, अजमतुल्लाह उमरजाइ र रायन बुर्लले समान एक/एक विकेट लिए ।

बलिङतर्फ फार वेस्टका उमर अली एक्लैले तीन विकेट लिए भने भुवन कार्की र हस्मतुल्लाह साहिदीले समान दुई/दुई विकेट लिए । त्यस्तै शेर मल्लले एक विकेट लिए । यता काठमाडौँको भने यो पहिलो हार हो ।

यसअघि भएको पहिलो खेलमा काठमाडौँले पोखरा एभेन्जर्सलाई २६ रनले हराएको थियो । प्रतियोगिताको विजेताले ५५ लाख तथा उपविजेताले ३० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै तेस्रो हुनले १० लाख तथा चौँंथोले पाँच लाख पाउने छन् ।