कैलालीमा बाघको हड्डी र जडिबुडीसहित पाँच पक्राउ
कैलाली, १२ पुस । कैलालीकाे धनगढीमा बाघको हड्डी र जडिबुडीसहित पाँच जना पक्राउ परेका छन् ।
धनगढी उपमहानगरपालिका-४ बसपार्क र १३ को राजपुरबाट नक्कली नोट, बाघको हड्डी र जडिबुडीसहित पाँच जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
नक्कली मुद्राको कारोबार भइरहेको सूचना पछि प्रहरीले एक हजारका चार नोटसहित चुरे गाउँपालिका-६ का ५५ वर्षीय लालबहादुर साउँदलाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता वेदप्रकाश जोशीले बताए ।
उनकाअनुसार अनुसन्धानका क्रममा एक हजार दरका थप १३८ नोटसहित अन्य चार जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा राजपुरस्थित एस एस होटलमा डेरा गरी बसेका दार्चुलाको लेकम गाउँपालिका-६ का ३३ वर्षीय लिलाधार मिश्र, डोटीको शिखर नगरपालिका-१० का ३० वर्षीय करनसिंह धामी, १९ वर्षीय टेकेन्द्र धामी र बडिकेदार गाउँपालिका-१ बस्ने ५० वर्षीय मोहन सिंह बोहरा रहेका छन् ।
उनीहरूकाे साथबाट १३८ थान नक्कली नोट, जेब्रा झोलामा बाघको जस्तो करीब साढे ५ किलो देखिने अस्थीपंजर हड्डी र प्लाष्टिकभित्र लुकाएको अवस्थामा प्रतिबन्धित जडिबुडी पनि बरामद गरी नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।