आफ्नै काकीको हत्या गर्ने भतिज पक्राउ

धनुषा, १३ पुस । धनुषामा आफ्नै काकीको हत्या गरेकाे आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् ।

सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक्त घटनाको अनुसन्धान गर्दै जाँदा दिलीपको संलग्नता रहेको खुलेपछि मङ्गलबार साँझ उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

मृतकको अनुहारमा गम्भीर चोट लागेको पाइएको प्रहरीले जनाएको छ । रक्ताम्य र अर्धनग्न अवस्थामा कवितादेवीको शव फेला परेको थियो ।

दिलीप शङ्कास्पद अवस्थामा भेटिएका थिए । उनको हातको बूढीऔँला तथा घाँटीमा घाउ रहेको प्रहरीको भनाइ छ । दिलीपसित कवितादेवीको मोबाइलसमेत फेला परेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।