हजारकाे नक्कली नोट सहित एकजना पक्राउ

काठमाडौं,१४ पुस । तारकेश्वर नगरपालिका ४ बाट १ हजार दरको ४ थान नक्कली नोट सहित एक जना पक्राउ परेका छन् । बारा आदर्श कोटवाल गाउँपालिका ५ घर भई काठमाडौं तार्केश्वर नगरपालिका ४ रातोपुल बस्ने पप्पु भन्ने ४९ वर्षीय शेख निसम अख्तरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं तारकेश्वर सानोपुल एरिया आसपासमा विभिन्न व्यक्तिहरुले नेपाली खोटा मुद्रा बनाई सद्दे सरह चल्तीमा ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोट सहित फेला पारेको हो ।

उनलाई मुद्रा सम्बन्धी कसूरमा थप अनुसन्धानका लागि प्रहरी वृत्त बालाजु पठाइएको छ ।