मुलुकभरका सुरक्षा निकायका प्रमुखको भर्चुअल बैठक सुरु
काठमाडाैं, १८ पुस । गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा मुलुकभरका प्रमुख जिल्ला अधिकारी र जिल्लाका सुरक्षा निकायका प्रमुखको भर्चुअल बैठक सुरु भएको छ ।
गृहमन्त्रालयबाट भर्चुअलरुपमा गृहमन्त्री तथा सुरक्षा निकायका प्रमुख सहभागी उक्त बैठकमा जिल्ला सुरक्षा समितिमा रहेका सबै सुरक्षा निकायमा प्रतिनिधिसमेत सहभागी भएका गृहमन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार जारी बैठकमा गृहमन्त्री लामिछानेले शान्ति सुरक्षा तथा सेवा प्रवाहका विषयमा आवश्यक निर्देशन दिनुहुने जनाइएको छ । गृहमन्त्री भएर पदभार ग्रहण गरेकै दिन उहाँले गृहप्रशासन सुधारमा आफ्नो प्रयास रहने र विधिको शासन कार्यान्वयनमा सहयोग रहने प्रतिबद्धता जनाउनुभएको थियो ।
गृहमन्त्री लामिछानेले राहदानी विभागको समेत स्थलगत अनुगमन गरी सेवा सुधारका लागि आवश्यक निर्देशन दिइसक्नुभएको छ । आजको बैठकमा भने गृहमन्त्रीसमक्ष देशभरको सुरक्षा अवस्थाका बारेमा सम्बद्ध अधिकारीबाट जानकारी गराइने कार्यक्रम तय भएको छ ।
यस्तै गृहमन्त्री लामिछानेले गृहप्रशासनको काम कारबाही र सेवालाई प्रभावकारी बनाउने विषयमा आवश्यक निर्देशनसमेत दिनुहुने गृहमन्त्रालयले जनाएको छ ।
आजको बैठक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने, नागरिकका गुनासा सम्बोधन गर्दै गृहप्रशासनको सेवा छिटो र छरितोरुपमा उपलब्ध गराउनेलगायतका विषमया केन्द्रित रहेको जनाइएको छ ।