कुश्मा नगरपालिका द्धारा एसईईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई भत्ता
पर्वत, २० पुस । पर्वतकाे कुश्मा नगरपालिकाले नगरभित्रका १३ विद्यार्थीका लागि छात्रवृत्तिस्वरूप झण्डै रु चार लाख वितरण गरेको छ ।
आर्थिक वर्ष २०७९ ८० को वार्षिक नीति तथा कार्यक्रममा समावेश भएको ‘नगरप्रमुखसँग विद्यार्थी पहिचान कार्यक्रम’अन्तर्गत सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति दिइएको हो । नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङका अनुसार विसं २०७८ को एसइई परीक्षामा सामुदायिक विद्यालयबाट तीनदशमलव ६५ वा सोभन्दा माथिको जिपिए प्राप्त गरेका विद्यार्थीलाई उक्त रकम उपलब्ध गराइएको हो ।
अध्ययनमा अब्बल रहेका विद्यार्थीलाई प्रोत्साहन तथा कक्षा १२ सम्म सघाउनका लागि मासिक दुई हजार पाँच सयका दरले एक वर्षको रकम दिइएको थियो । योसँगै प्रतिविद्यार्थी ३० हजारका दरले कुल तीन लाख ९० हजार निकासा दिइएको उहाँले बताउनुभयो ।
यो सुविधा पाउनका लागि कुश्मा नगरपालिकामा रहेका १८ वटा माध्यमिक विद्यालयबाट एसइई परीक्षामा सहभागी भएको हुनुपर्ने शर्त राखिएको थियो । सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम हुँदै गइरहेकाले विद्यार्थी सङ्ख्या बढाउन कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयबाट एसइईमा उक्त जिपिए ल्याएका विद्यार्थीलाई मात्रै सुविधा दिइएको हो ।
“सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीलाई सहयोग पुगोस्, उसको अध्ययनमा थप प्रेरणा मिलोस् भनेर यो कार्यक्रम स्वीकृत गरिएकाले सोहीअनुसार कार्यान्वयन गरेका हौँ । यसले सामुदायिक विद्यालयमा अध्ययन गर्नका लागि पनि विद्यार्थीलाई प्रेरणा दिने छ”, अधिकृत गुरुङले भन्नुभयो, “वर्षमा ३० हजार आउनु पनि विद्यार्थीका लागि राम्रो हो । कुश्मा नगरपालिकाका १८ माविबाहेक अन्यत्रबाट उत्तीर्ण भएकाको हकमा यो कार्यक्रम लागू भएको छैन । रकम थोरै भए पनि उनीहरूको थप अध्ययनमा यसले सघाउ पुग्ने छ ।”
नगरसभाबाट पारित भएको उक्त कार्यक्रम नगरको चालु वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन भएसँगै लागू भएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । सामुदायिक विद्यालयबाट एसइई परीक्षामा समावेश हुने कतिपय विद्यार्थी गरिब तथा विपन्न अवस्थाका हुने भएकाले सामुदायिक विद्यालयका लागिमात्रै कार्यक्रम लागू गरिएको उहाँको भनाइ थियो । यस्तो भत्ता एसइई पास भएर कक्षा १२ को पढाइ नसकिने बेलासम्म दिइने तथा कक्षा ११ बाट उत्तीर्ण हुन नसके छात्रवृत्ति भत्ता कटौती हुने गरी कार्यविधि बनाइएको पनि नगरप्रमुख जोशीले बताउनुभयो ।