महाकालीको हरिहर घाटमा एक महिने मकर मेला हुने

कञ्चनपुर , २० पुस । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ महाकाली नदीस्थित हरिहर घाटमा मकर मेला हुने भएको छ ।धार्मिक पर्यटन विकासका लागि महाकाली नदीमा बनेको चारलेन पुलसँगै रहेको हरिहर घाटमा उत्तरायणी मकर मेला आयोजना हुन लागेको हो । पौष पूर्णिमादेखि धर्मध्वज पूजनसहित मेला महास्नान प्रारम्भ हुने मेला मूल समितिका संयोजक देवी भारतीले जानकारी दिनुभयो ।

“महाकाली नदीको हरिहर घाटलाई तीर्थस्थलका रुपमा विकास गर्न मेला गर्न लागेको हो”, उहाँले भन्नुभयो, “यसले यहाँको धार्मिक, सांस्कृतिक पहिचान हुनेछ ।” उहाँका अनुसार मेला एक महिनासम्म चल्नेछ ।

उहाँले महर्षि वेद व्यासद्वारा कुवेरको वाजपेय यज्ञका लागि देवदारु वनको व्यासाश्रमबाट आएर लिपिपवर्तमा वैकुण्ठ लोकमा मन्दाकिनी गङ्गाको प्रार्थना गरेर प्रकट गरेको हुनाले महाकाली नदी प्रसिद्ध तीर्थस्थल रहेको बताउनुभयो । “हरिहर स्नान घाटमा ४० हजार तीर्थस्थल भएकाले यहाँ आएर महास्नान गर्नु उत्तम छ”, उहाँले भन्नुभयो, “यहाँ सिद्धनाथ बैजनाथको भूमि भएकाले पनि यो ठाउँ तीर्थस्थलका लागि प्रसिद्ध छ ।”

त्यसैगरी आचार्य घनश्याम लेखकले देव मानसि गङ्गाका दुई धारमध्ये एक धार महाकाली नदी र अर्को धार कर्णालीको उत्पत्ति कैलाशमान सरोवर भएकाले स्कन्दपुराणमा महाकाली नदीको पौराणिक महत्व रहेको बताउनुभयो । “मानखण्ड पुराणमा महाकाली नदीको पौराणिक महत्व रहेकाले यहाँ स्नान गर्नु उत्तम छ”, उहाँले भन्नुभयो, “यो क्षेत्रलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न मेला महत्वपूर्ण छ ।”

अहिले महाकाली नदीमा चार लनेको पुल बनेसँगै यहाँ पर्यटकहरु आउनेक्रम बढेको छ । यसलाई धार्मिक पर्यटनका हिसाबले पनि विकास गर्न सके यहाँको पर्यटन व्यवसाय फस्टाउने स्थानीय कविराज भट्ट बताउँनुहुन्छ । “धार्मिक हिसाबले सुदूरपश्चिम प्रदेशको महत्व धेरै छ यसले गर्दा यहाँको धार्मिक पर्यटन विकासमा जोड दिनु आवश्यक छ”, उहाँले भन्नुभयो, “हरिहरघाटलाई तीर्थस्थलका रुपमा विकास गर्न जरुरी छ ।”