एमाले स्थायी कमिटी सदस्य कार्की आजै प्रदेश १ को मुख्यमन्त्री बन्दै

काठमाडौं, २४ पुस । एमालेका स्थायी कमिटी सदस्य हिक्मत कार्कीले प्रदेश १ सरकारको नेतृत्व गर्ने निश्चित भएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश १ सरकारको मुख्यमन्त्री दाबी गर्न दलहरूलाई दिएको समयसीमा आज साँझ ५ बजे सकिँदैछ । समयसिमा भित्र सत्ता साझेदार दलहरुले प्रदेश प्रमुख सामू हिक्मत कार्कीलाई मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने तयारी भएको एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।

झापा क्षेत्र नम्बर पाँच १ बाट प्रदेशसभामा निर्वाचित कार्की प्रदेशको पहिलो कार्यकालमा आन्तरिक मामिला तथा कानुनमन्त्री बन्नु भएको थियो । ‘हामीले हिजो शनिवार नै दाबी प्रस्तुत गर्ने तयारी गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘माओवादीका साथीहरु काठमाडौंबाट आइनपुगेका कारण ढिलाई भयो । आज चार दलको समर्थनमा एमाले संस्दीय दलका नेता हिक्मत कार्कीलाई मुख्यमन्त्रीका रुपमा नियुक्त गर्न प्रदेश प्रमुखसामु दाबी पेश गर्दैछौं ।’

पुस १७ गते नै प्रदेश प्रमुखले एक साताको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीको दाबी गर्न प्रमुख खापुङले आव्हान गरेको जानकारी दिदैँ भण्डारीले आजै दाबी प्रस्तुत गरेर भोलिसम्ममा सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी भएको जानकारी दिनुभयो ।

प्रत्यक्षतर्फ ५६ वटा निर्वाचन क्षेत्र रहेको प्रदेश एकमा १४ जिल्ला छन् । कांग्रेस नेतृत्वकै गठबन्धन यथावत रहँदा पनि प्रदेश एकमा नेकपा (एमाले)लाई राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको मात्रै समर्थनले पनि सरकार बनाउन पुग्ने गणित थियो । पछिल्लो राजनीतिक घटनाक्रमले नयाँ मोड लिएपछि प्रदेश एकमा अब एमालेकै नेतृत्वमा सरकार गठनका लागि सहज अवस्था देखिएको छ ।

५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा एमाले एक्लैले प्रत्यक्षतर्फ २५ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ र माओवादीले ९ सिट प्राप्त गरेको छ । त्यसैगरी नेकपा समाजवादीले ३ सिट ल्याउँदा राप्रपाको २ सिट छ ।

५६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यो प्रदेशमा एमाले एक्लैले प्रत्यक्षतर्फ २५ सिट प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ र माओवादीले ९ सिट प्राप्त गरेको छ । त्यसैगरी नेकपा समाजवादीले ३ सिट ल्याउँदा राप्रपाको २ सिट छ 

 

पछिल्लो राजनीतिक समिकरण अनुसार एमालेको नेतृत्वमा गठबन्धन बनेको छ । एमाले मंसिर ४ को निर्वाचनमा जसपा र राप्रपासाग तालमेल गरेर चुनावमा गएको थियो । अहिले नयाँ गठबन्धन गरेपछि माओवादी पनि थपिएको छ । कांग्रेस नेतृत्वको गठबन्धनको नेकपा समाजवादी भने अहिले तटस्थ छ । यसरी हेर्दा प्रदेश एकमा एमाले नेतृत्वको गठबन्धनमा प्रत्यक्ष तर्फमात्रै ३६ सिट पुगेको छ ।

समानुपातिकसहित जोड्दा एमालेको ४० सिट, माओवादीको १३ सिट र राप्रपाको ६ सिट अनि जसपाको १ सिट हुन्छ । यी चार दलको मात्रै जोड्दा पनि ६० सिट पुग्छ । प्रदेश १ मा सरकार बनाउन ४७ सिट भए पुग्छ । तर, अहिले एमाले नेतृत्वको गठबन्धनसँग ६० सिट पुग्छ ।