यस वर्ष तारुकामा माघेसङ्क्रान्तिका दिन २८ हल गोरु जुधाइने

नुवाकोट, २४ पुस । नुवाकोटको तारुकामा यस वर्ष माघकाे १ र २ गते २८ हल गोरु जुधाइने भएको छ ।

तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यो वर्ष माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार समितिले किसानलाई यही पुस २३ गतेसम्म दर्ता गर्न जारी गरेको सूचनाअनुसार २८ हल गोरु जुधाउन दर्ता भएका छन् । अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ ।

यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको समितिका सचिव अमित अधिकारीले जानकारी दिनुभयो । गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो ।

“अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ”, उहाँले भन्नुभयो, “गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ ।”

माघे सङ्क्रान्तिको अवसरमा जुधाउन दर्ता भएका गोरुलाई एकले अर्कोसँग (वान भर्सेज वान) प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतिस्पर्धामा विजेता हुने गोरु, धेरै समयसम्म जुध्ने गोरु, उत्कृष्ट प्रस्तुतिका साथ जुध्ने गोरुलगायतका शीर्षकमा गोरुधनी किसानलाई नगदसहित सम्मान गरिने आयोजकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *