आजै गण्डकीको मुख्यमन्त्री बन्दै खगराज

पोखरा, २५ पुस । प्रदेश १ ले मुख्यमन्त्री पाएको भोलिपल्ट अर्थात आज गण्डकी प्रदेशले पनि नयाँ मुख्यमन्त्री पाउँने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकार गठनका लागि दिएको पाँच दिनको समयसीमा आज बेलुका ४ बजे सकिँदैछ ।

आजै गण्डकी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको प्रदेश सांसद मित्रलाल बस्यालले जानकारी दिनुभयो ।

आजै गण्डकी प्रदेश नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीले प्रदेशसभाका बहुमत सदस्यको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको प्रदेश सांसद मित्रलाल बस्यालले जानकारी दिनुभयो

आइतबार साँझ बालुवाटारमा सत्तारुढ दलको बैठकले भागबण्डा टुंग्याएसँगै गण्डकीको मुख्यमन्त्री नेकपा (एमाले) को भागमा परेको छ । सोही अनुसार आज अधिकारीले दाबी पेश गर्ने तय भएको बस्यालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गण्डकी प्रदेशमा गठबन्धन दलतर्फ एमालेको २२, नेकपा माओवादी केन्द्रको आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई सिट छ । ६० सिट रहेको प्रदेशसभामा अधिकारीका पक्षमा ३२ सिट छ । यो भनेको बहुमत हो । गण्डकी प्रदेशमा नेपाली कांग्रेससँग २७ र नेकपा एकीकृत समाजवादीसँग एक सिट छ ।