०७९ चैत मसान्तभित्र आ–आफ्ना अधिवेशन–सम्मेलनहरु सम्पन्न गर्ने एमालेका जनसंगठनको प्रतिवद्धता (घोषणापत्रसहित)

धुलिखेल, २५ पुस । नेकपा (एमाले) सम्बद्ध जनसंगठनहरुको भेला धुलिखेल ‘धुलिखेल घोषणा’ जारी गर्दै सम्पन्न भएको छ । जनसंगठन समन्वय संयन्त्रले आयोजना गरेको एमालेसम्बद्ध २३ वटै जनसंगठनहरुको भेला ११ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको हो । भेलाले जनसंगठनहरु आम जनसमुदायतमा पुग्ने भरपर्दा वर्गीय, सामुदायिक र पेशागत संगठनहरु भएकाले यिनीहरु सक्रिय बनाउनु पर्नेमा जोड दिएको छ । ‘त्यति नै पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने यथार्थलाई मध्यनजर गर्दै बढीभन्दा बढी संगठन विस्तार गर्ने कुरामा जोड दिन चाहन्छ,’ भेलापछि जारी घोषणा पत्रमा भनिएको छ, ‘त्यसका लागि लक्षित समुदायको पहिचान गरी अभियानका रुपमा सदस्यता विस्तारलाई तीब्रता दिने प्रतिबद्धता व्यक्त गर्दछ ।’
घोषणापत्रको पूर्णपाठ
२०७९ मंसिर ४ मा सम्पन्न प्रदेश तथा संघको निर्वाचनमा पाँच दलीय गठबन्धन, पार्टी विभाजनको कुत्सित प्रयास, नेतृत्वमाथि निरन्तरको प्रहार जस्ता चौतर्फी घेराबन्दीका बावजुद नेकपा (एमाले) समानुपातिकतर्फ सबभन्दा बढी मत प्राप्त गरी जनताको रोजाइको पहिलो पार्टीका रुपमा स्थापित भएको छ । यसबाट नेपाली जनताको दीर्घकालीन आशा–भरोसाको केन्द्र, विकास र समृद्धिको सम्बाहक, सबै समुदायको साझा केन्द्र र आमूल परिवर्तनको अगुवा पार्टी नेकपा (एमाले) नै हो भन्ने पुनर्पुष्टि भएको छ । यस प्रतिकूल परिस्थितिमा यसका लागि अहोरात्र खट्नुहुने सबै जनसंगठनलगायतका नेता–कार्यकर्ताहरु र नेकपा (एमाले) का पक्षमा उभिनुहुने आमजनसमुदायलाई हार्दिक धन्यवाद दिँदै प्रदेशसभा तथा प्रतिनिधिसभामा निर्वाचित हुनुभएका सबै कमरेडहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछ ।

२. निर्वाचनबाट पाँच दलीय गठबन्धनले बहुमत गुमाएको र कुनै एक दलले बहुमत प्राप्त गर्न नसकेको अवस्थालाई नेकपा (एमाले) विस्द्धको मोर्चाबन्दीलाई अझ कसिलो बनाउने, मुलुकलाई अधोगतितिर लैजाने, विभिन्न शक्ति केन्द्रहरुको क्रिडास्थल बनाउने र राष्ट्रिय शक्तिलाई कमजोर बनाउने गलत अवसरका रुपमा प्रयोग गर्ने प्रयासहरु भइरहेको बेला हाम्रो पार्टीको अगुवाइमा त्यस अप्राकृतिक गठबन्धनलाई भत्काउने काम भएको छ । निर्वाचनबाट प्राप्त जनादेशलाई त्यसको भावना अनुरुपमा सकारात्मक रुपमा उपयोग गर्दै सम्भव भएका दलहरुसँग सहकार्य गरेर संघ तथा प्रदेशमा सरकारहरु गठन भएका छन् । यसबाट जनमतको सही कार्यान्वयन हुने, मुलुकभित्र विदेशी चलखेलहरु बन्द हुने, विचार मिल्ने दलहरुका बीचमा समयक्रममा सहकार्यले घनिष्टता प्राप्त गर्दै जाने, जनताको समृद्धि र सुशासनको चाहनालाई सही दिशा दिने, राष्ट्रिय हितको प्रबद्र्धन गर्ने र परिवर्तनप्रेमी आम जनताको मनोबल उच्च राख्ने अवस्था निर्माण भएको छ । क्षणिक असफलताबाट विल्कुल नआत्तिने, गम्भीर प्रयत्नका माध्यमबाट प्रतिकूलतालाई अनुकूलतामा परिणत गर्ने, सही समयमा सही निर्णय गरेर देशलाई निकास दिने र पार्टीलाई राष्ट्रिय राजनीतिको मूल केन्द्रका रुपमा स्थापित गर्नुहुने अध्यक्ष केपी शर्मा ओलीको कुशल र दूरदर्शी नेतृत्वप्रति हामी गौरव गर्दछौँ । नयाँ जनादेशका आधारमा निर्मित नयाँ समीकरणलाई कुशलतापूर्वक अघि बढाउँदै सरकारका माध्यमबाट देश र जनताका पक्षमा हुने कामहरुका साथै यस अवधिमा पार्टी कमिटी र जनसंगठनहरुले गर्ने व्यापक मिहिनेतले आगामी निर्वाचनबाट पार्टीलाई बहुमत प्राप्त गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

३. नेपालको राष्ट्रिय एकता, राष्ट्रिय हित र सार्वभौमिकताको सुदृढीकरणका लागि सबै राजनीतिक दलहरु एकताबद्ध हुनुपर्नेमा कतिपय दल र तिनका नेताहरुले आफ्नो क्षणिक राजनीतिक स्वार्थका लागि शक्ति केन्द्र धाउने, सरकार बनाउन विदेशीलाई गुहार्ने र नेपालको निर्णय नेपालीले आफैँ गर्न सक्दैनन् भन्ने सन्देश प्रवाह गर्नु विडम्बापूर्ण छ । हालै नेकपा (एमाले) को अगुवाइमा नयाँ समीकरण र सरकार बनेको छ । नेपालमा कस्तो सरकार बनाउने भनेर आफ्नो निर्णय आफैँ गर्न नेपालका दलहरु सक्षम छन् भन्ने कुरा यसबाट सबैलाई स्पष्ट भएको छ । नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो नराख्न, दलहरुका बीचमा नखेल्न र सार्वभौमिक समानताका आधारमा सम्बन्ध राख्न सबै पक्षसँग आग्रह गर्दछ ।

४. प्रतिकूल आर्थिक परिस्थितिमा नेकपा (एमाले) ले मुलुकको राजनीतिक नेतृत्व लिएको छ र सरकारमा सहभागी बनेको छ । पूर्ववर्ती सरकारले जर्जर बनाएको मुलुकको आर्थिक अवस्था विश्वव्यापी आर्थिक मन्दीको थप मारमा पर्ने अवस्था छ । यस अवस्थाबाट देशलाई जोगाएर जनताको अपेक्षाहरु पूरा गर्नुपर्ने दायित्व सरकारको छ । सुुशासन र समृद्धिलाई मुख्य कार्यसूची बनाएर जनताको दैनन्दिनका समस्याहरु तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँछ । बढ्दो मूल्यबृद्धि, कालोबजारी, दण्डहीनता, प्राज्ञिक तथा तटस्थ संस्थाहरुको चरम राजनीतिकरण, सरकारी निकायहरुमा सेवाग्राहीहरुले लाग्नुपर्ने लामो लाम, किसानहरुले मल नपाइरहेको अवस्था, धानको समर्थन मूल्य कार्यान्वयन नभइरहेको, सीमा नाकाहरुबाट भइरहेको तस्करी, महिलाहरुमाथि भइरहेका जघन्य अपराधहरु, छुवाछूतका नाममा भइरहेका अमानवीय कामहरु, सार्वजनिक तथा निजामती क्षेत्रमा रहेका विभिन्न ऐन तथा नियमावलीको अभाव, राज्य संयन्त्रबाट निश्चित व्यक्ति र घरानाहरुले पाइरहेको अनुचित लाभ, नागरिकहरुले न्यूततम रुपमा पाउन नसकेको स्वास्थ्य सेवा जस्ता समस्याहरु अविलम्ब समाधान गरी सकारात्मक सन्देश दिनका लागि सरकारसँग आग्रह गर्दछ ।

५. नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले भूमिहीनहरुका समस्या समाधान गर्नका लागि गठन गरेको आयोगलाई राजनीतिक पूर्वाग्रहका कारण हठात् भंग गरी त्यस प्रक्रियालाई अवरुद्ध पारेको विदितै छ । त्यसपछि गठित आयोगले सुस्त गतिमा भए पनि काम सुरु गरिरहेको बेलामा देशका विभिन्न भागमा बसिरहेका भूमिहीन सुकुम्बासीहरुलाई बैकल्पिक व्यवस्था गरेर समस्या समधान गर्नुको साटो बसिरहेको ठाउँबाट हठात् हटाउने र उनीहरुको वस्तीमा डोजर चलाउने जस्ता कार्य गरिएको छ । अतः भूमिसम्बन्धी आयोगलाई प्रभावकारी बनाएर अव्यवस्थित बसोबासी, भूमिहीन तथा सुकुम्बासीहरुका लागि बैकल्पिक व्यवस्था गरी समस्या समाधान गर्नका लागि सरकारको ध्यानाकर्षण गराउँछ ।

६. पार्टीमा लोकतान्त्रीकरणको अभ्यास सुरु नहुँदै आफूभित्र लोकतान्त्रीकरणको अभ्यास आरम्भ गरेर सकारात्मक उदाहरण देखाएका जनसंगठनहरु पछिल्लो अवधिमा तदनुरुप सञ्चालन हुन नसकेको यथार्थप्रति सचेत हुँदै नेतृत्व निर्माण र विकासको प्रक्रियालाई सुचारु गर्न राष्ट्रिय अधिवेशन÷सम्मेलनहरु गर्न बाँकी रहेका जनसंगठनहरुले २०७९ चैत मसान्तभित्र आ–आफ्ना राष्ट्रिय अधिवेशन÷सम्मेलनहरु गरिसक्ने प्रतिबद्धता व्यक्त गर्दछ । साथै, केन्द्रीय कमिटी बैठकलगायत विधानले व्यवस्था गरेका स्थानीय तहसम्मका अधिवेशन÷सम्मेलन, बैठक, भेला तथा प्रशिक्षणहरु अविलम्ब र नियमित गर्न सबैलाई निर्देशित गर्दछ ।

७. जनसंगठनहरु आम जनसमुदायतमा पुग्ने भरपर्दा वर्गीय, सामुदायिक र पेशागत संगठनहरु भएकाले यिनीहरु जति सक्रिय हुन्छन्, त्यति नै पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने यथार्थलाई मध्यनजर गर्दै बढीभन्दा बढी संगठन विस्तार गर्ने कुरामा जोड दिन चाहन्छ । त्यसका लागि लक्षित समुदायको पहिचान गरी अभियानका रुपमा सदस्यता विस्तारलाई तीब्रता दिने प्रतिबद्धता व्यक्त गर्दछ ।

८. प्रत्येक जनसंगठनका अलग–अलग कार्यक्षेत्र, कार्य–प्रकृति र सरोकारहरु रहेका छन् । आ–आफ्नो वर्ग, समुदाय र पेशाका माग र मुद्दाहरुलाई बलियो गरी नपक्रेसम्म बलियो संगठन बनाउन सकिँदैन भन्नेमा हामी स्पष्ट नै छौँ । अतः पार्टीलाई बलियो बनाउन, आफ्नो संगठनलाई नेता संगठनका रुपमा स्थापित गर्न र आ–आफ्नो वर्ग, समुदाय र पेशाका हितहरुलाई प्रबद्र्धन गर्नका लागि सिर्जनशील रुपमा क्रियाशील हुने अठोट व्यक्त गर्दछौँ । त्यसका लागि सीधै संगठनमा आबद्ध हुन नचाहने वा नभइसकेका, स्वतन्त्र र समाजमा प्रतिष्ठित व्यक्तिहरुलाई समेत साथमा लिएर रचनात्मक रुपमा आ–आफ्ना वर्गीय, सामुदायिक र पेशागत क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रण गर्दछौँ ।

९. त्रिुभवन विश्वविद्यालयले आगामी २०७९ चैत ५ गते क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्ने घोषणा गरेको छ । विद्यार्थी आन्दोलनको लामो संघर्षका कारण स्थापित स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लामो समयसम्म नभइरहेको अवस्थामा हुन गइरहेको यस निर्वाचनलाई आमूल परिवर्तन, समृद्धि, प्राज्ञिक स्वतन्त्रता, गुणस्तरीय शिक्षा, स्वच्छ शैक्षिक प्रशासन जस्ता विषयका पक्षधर न्यायप्रेमी विद्यार्थीहरुको विजयको अवसरका रुपमा उपयोग गर्नुपर्छ । त्यसका लागि निरन्तर लडिरहेको नेपाली विद्यार्थी आन्दोलनको मूल प्रवाह अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनलाई आफ्ना मुद्दा र मागहरु विद्यार्थी समुदायका बीचमा बुझाउन, उनीहरुलाई आफ्नो पक्षमा गोलबन्द गर्न र विजय प्राप्त गर्न सफलता प्राप्त होस् भन्ने कामना गर्दछ । साथै, आसन्न स्ववियु निर्वाचनमा न्यायप्रेमी र परिवर्तनकामी सबै विद्यार्थीहरुलाई अनेरास्ववियुका पक्षमा मतदान गर्न आह्वान गर्दै सहयोगका लागि सबैलाई अपिल गर्दछ ।

धन्यवाद

१०. नेकपा (एमाले) सम्बद्ध जनसंगठनहरुको दुई दिने कार्यशालाका रुपमा आयोजित यो भेलामा महत्वपूर्ण समय दिएर उद्घाटन गर्नुका साथै मार्गदर्शन गरिदिनुभएकोमा अध्यक्ष कमरेड केपी शर्मा ओलीका साथै महत्वपूर्ण सम्बोधनका लागि पार्टीका उपाध्यक्ष एवम् उपप्रधानमन्त्री तथा अर्थमन्त्री कमरेड विष्णुप्रसाद पौडेल, महासचिव कमरेड शंकर पोखरेल, सचिव कमरेड योगेश भट्टराई, स्थायी कमिटी सदस्य तथा संगठन विभागका सदस्य कमरेड काशीनाथ अधिकारीलगायतका नेताहरुप्रति कृतज्ञता व्यक्त गर्दछ । साथै, यो भेला सफल पार्नका लागि सहयोग गर्ने नेकपा (एमाले), जिल्ला कमिटी काभ्रे, विभिन्न संस्था तथा व्यक्ति, जनसंगठनका स्थानीय कमिटीलगायत सबैप्रति धन्यवाद ज्ञापन गर्दछ ।

श्रद्धाञ्जली

११. नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य, जनसंगठन समन्वय संयन्त्रका सदस्य तथा राष्ट्रिय अपांगता संगठन, नेपालका इन्चार्ज कमरेड बालकृष्ण ढुंगेलको २०७९ असोज २२ गते भएको निधनले नेपालको कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति पुगेको छ । कम्युनिस्ट आन्दोलनको विस्तार र एकीकरणका लागि उहाँले दिएको योगदानको स्मरण गर्दै यो भेला दिवगत कमरेड ढुंगेलप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ । साथै, परिवारजनमा समवेदना प्रकट गर्दछ ।

जनसंगठनहरु
१. अखिल नेपाल किसान महासंघ
२. अखिल नेपाल महिला संघ
३. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन
४. राष्ट्रिय अपांगता संगठन नेपाल
५. लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपाल
६. नेपाल उत्पीडित जातीय मुक्ति समाज
७. नेपाल उद्योग व्यवसाय महासंघ
८. नेपाल खेलकुद महासंघ
९. नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)
१०. नेपाल बुद्धिजीवी परिषद्
११. नेपाल भूमि अधिकार तथा श्रमिक संगठनक्
१२.नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन
१३. पेशागत महासंघ, नेपाल
१४. प्रगतिशील तथा पेशागत कानुन व्यवसायी संगठन
१५. प्रेस चौतारी नेपाल
१६. प्रगतिशील इन्जिनियर्स एसोसिएसन
१७. राष्ट्रिय जनसाँस्कृतिक महासंघ
१८. मानवअधिकार तथा सामाजिक न्याय मञ्च
१९. राष्ट्रिय युवा संघ, नेपाल
२०. नेपाल मुस्लिम इत्तेहाद संगठन
२१. राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल
२२. रिटर्र्नी फेडरेसन नेपाल
२३. नेपाल पिछडा वर्ग महासंघ