कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने, गगन, विश्वप्रकाश, अर्जुन र प्रदिपको फरक मत

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। यद्यपि दुई महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह कसी र प्रदीप पौडेलले भने फरक मत राखेको एक नेताले जानकारी दिए ।

मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको गरेको हो । पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव गर्नुभएको थियो ।

उहाँको प्रस्तावमा असहमति जनाउँदै कार्य सम्पादन समिति बैठक बोलाउन माग गरिएको थियो । त्यो बैठकमा समेत चार जनाले फरक मत राख्नुभएको हो । त्यसैगरी लोसपा र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि विश्वासको मत दिने निर्णय गरेको छ भने राष्ट्रिय जनमोर्चाले विपक्षमा मत दिने निर्णय गरेको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि सर्तसहित विश्वासको मत दिने निर्णय गरेको छ । यद्यपि, उक्त दलले पनि कांग्रेसले जस्तै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ ।