प्राधिकरणको टालटुले जवाफ, उधोगी मारमा

अघोषित लोडसेडिङबारे कुलमानको आलटालमा यस्तो छ भित्री रहस्य

काठमाडौं, ३० पुस । गत जेठ महिनामा केही युनिट विद्यूत नेपाल विद्युत प्राधिकरणले भारतलाई बेच्न थालेको समाचार निकै चर्चित भयो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि त्यतिबेला आफ्नै कारणले विद्यूत भारतलाई बेच्न सफल भएको भने झैँ सञ्चारमाध्यममा अन्तरर्वार्ता दिदैँ हिड्नुभयो । मानौँ कि कुलमान बाहेक अरुको नेतृत्व त्यतिबेला प्राधिकरणमा थियो भने त्यो संभव थिएन ।

थोरै काममा बढी चर्चा लिने कुलमान शैली त्यतिबेला पनि सफल भयो । उहाँ स्वंमले पनि आफूलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राख्नु भएन । तर, अहिले त्यसको ठिक उल्टो भएको छ । कोरोनाको कहरबाट भर्खर तङ्ग्रिदै गरेका ठूला उद्योगमा विद्युत प्राधिकरणले विद्यूत कटौती थालेपछि उद्योगी ठूलो मारमा पर्न थालेका छन् । विद्यूत प्राधिकरणले ठूला उद्योग सञ्चालन गरेका उद्योगीलाई लोडसेडिङको तालिका दिएको छैन । तर, अघोषित रुपमा विद्युत कटौती गर्दा सिमेन्ट र स्टिल उद्योगहरु ठूलो मारमा परेका छन् ।

केही उद्योगीहरुले त प्राधिकरणले अघोषित रूपमा लोडसेडिङ गर्दा उद्योग थप समस्यामा परेको भन्दै गुनासो गर्न थालेका छन् । विस्तारै बजार चलायमान हुन थालेका बेला प्राधिकरणले अघोषित रुपमा उद्योग बन्द गर भन्दा उद्योगीहरु थप पीडामा परेका छन् ।

यता प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने मिडियासँग गरेको कुराकानी र सामाजिक सञ्जालमा आएका कुरा नै जानकारी भएको तर्क गर्नुहुन्छ । ‘मैले अहिले तपाईँसँग गरिरहेको कुराकानी पनि जानकारी नै हो,’ उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल मिडिया हुन कि होइनन् ? यत्रो जानकारी आएकै छ त ? कुन उद्योगले जानकारी पाएन ? हामीले सामाजिक सञ्जाल, भएभरका मिडिया सबैलाई भन्दिएकै छ ।’ उहाँले हजारौँ मिडियामार्फत आफूहरुले जानकारी दिएको भन्दै उद्योगीहरुलाई नै त्यत्रो जानकारी प्राधिकरणले दिदाँ पनि थाहा पाउनु भएन भनेर प्रश्न गर्न सुझाव दिनुभयो ।

उहाँलाई तपाईँहरुले आधिकारिक रुपमा सूचना दिदाँ के विग्रिन्छ त ? भनेर प्रश्न गर्दा सामाजिक सञ्जाल र मिडियामा आफूहरुले दिएको सूचनालाई नै आधार मान्नुपर्ने जिकिर गर्नुभयो ।

ठूला उद्योगीहरूका अनुसार अहिले केही उद्योगीलाई बिहान ७ बजे देखि ११ र बेलुका ५ देखि १० बजेसम्म गरी करीब ९ घन्टा उद्योग नचलाउन प्राधिकरणले मौखिक निर्देशन दिएको छ । तर, लिखित रूपमा कुनै निर्देशन नआउँदा उनीहरुले खपिनसक्नुको हैरानी व्यहोर्नु परेको छ । २४ सै घन्टा विद्यूत आपुर्ति हुनुपर्ने उद्योगहरुमा यसरी लोडसेडिङ हुँदा खेप्नु पर्ने घाटाका बारेमा प्राधिकरण बेखवर जस्तै बनेको छ । तर, उद्योगीहरु भने अघोषित रूपमा लोडसेडिङका कारण अनावश्यक लागत मूल्य बढाउनुपर्ने बाध्यतामा छन् ।

सामान्य कुरामा पनि चर्चा बटुल्न खप्पिस कुलनमानको नेतृत्वमा रहेको प्राधिकरण अहिले बिहारको विद्युत आपूर्ति प्रणालीमा प्राविधिक समस्या देखिएपछि त्यसको असर नेपालमा देखिएको टालटुले गफ लगाएर मुख थुन्ने प्रयासमा छ । मैत्रीन्युजले प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईसँग यो विषयमा कुराकानी गर्दा भारतको बिहार राज्यबाट आयात भइरहेको बिजुली रोकिँदा ठूला उद्योगमा बिजुली कटौती गर्नुपरेको र अहिले विस्तारै समाधान हुँदै गएको टालटुले जवाफ दिनुभयो । ‘प्राधिकरणले यस्तो समस्या नहेर्ने भन्ने कुरै हुँदैन, हेरिरहेको छ,’ भट्टराईले भन्नुभयो, ‘यो सुख्खा मौसम भएका कारणले पनि केही समस्या भएको हो । हामी विस्तारै समाधान गर्दै आएका छौँ ।’ तर, उहाँले कहिलेबाट समाधान हुन्छ भन्ने कुरा ठ्याक्कै भन्न सक्नु भएन ।

‘सुख्खा मौसम आएपछि नेपाल जस्तो ठाउँमा यसै भन्न सकिन्न,’ उहाँले भन्नुभयो, ‘एकैछिनमा समस्या आउँछ फेरि समाधान हुन्छ । फेरि समस्या आउँछ, यस्तै हो, यो भैरहने चक्र हो । यो नेपाल र भारतको मात्रै होइन विश्वकै समस्या हो ।’

पहिला भारतलाई विद्यूत बेच्ने अवस्थाको प्राधिकरणले अहिले समस्या आउँदा सहज आपुर्तिका लागि पनि त पहल गर्नुपर्ने होला नि ? कि तपाईँहरुको कुटनीतिक पहल नपुगेको ? भन्ने प्रश्नमा उहाँले भन्नुभयो– अहिले १७ सय र १८ सयको बिचमा विद्यूतको माग भैरहरको छ । हामीले ८ सय २० देखि २५ मेघावाटसम्म मात्रै उत्पादन गरिरहेका छौँ । त्यो बाहेकको सबै आयत नै गर्ने हो । त्यसैले सहज आपूर्तिका लागि भारतसँग वार्ता भैरहेको छ ।’

उहाँले ठूला उद्योगलाई १५–१६ घण्टा विद्युत दिदैँ आएकोमा अहिले करीब १८ घण्टा दिदैँ आएको दाबी गर्नुभयो । ‘बिहारको विद्युत प्रणालीमा समस्या देखिएपछि रक्सौल–रामनगरबाट बिजुली आपूर्ति रोकिएको हो,’ उहाँले भन्नुभयो, ‘त्यहाँबाट १३ सय ३० मेगावाटको जेनेरेटरबाट विद्युत आपूर्ति भइरहेको थियो । रक्सौल–रामनगरबाट नेपालले करिब तीन हजार मेगावाट घन्टा बराबर बिजुली लिइरहेको थियो । यो रोकिँदा ठूला उद्योगहरूमा पिक आवरमा बिजुली कटौती गर्नुपर्ने अवस्था आएको हो ।’
उहाँले मझौला र साना उद्योगमा भने विद्युत आपूर्ति भइरहेको जानकारी दिनुभयो ।

अहिले उद्योगी मात्रै होइन सर्वसाधारण पनि लोडसेडिङको मार खेप्न बाध्यछन् । कुन बेला बत्ती जान्छ भन्ने कुनै यकिन छैन । यस्ता विषयमा पनि प्राधिकरण बेखवर जस्तै छ । बरु कुलमान अहिले आफ्नो असक्षमता लुकाउन विभिन्न खाले चर्चा बटुल्नेमा समय व्यथित गरिरहनु भएको छ । अहिले उहाँ आफ्नो असक्षमतालाई लुकाउन विभिन्न बाहना देखाएर आफूलाई चर्चामा ल्याउने प्रयासमा लाग्नु भएको छ । लप्सीफेदीको सबस्टेसन निर्माणको काममा भएको अवरोधलाई अहिले उहाँले आफ्ना सबै कमजोरी लुकाएर अरुको थाप्लोमा हाल्ने आधार पाउनु भएको छ । केही सञ्चारमाध्ययममा उहाँ अहिले लप्सीफेदीमा सबस्टेशन नबने लोडसेडिङ हुने हौवा फैलाएर अन्तर्वार्ता दिदैँ हिड्नु भएको छ ।

विद्यूत बेचेर नाफा कमाएको कुलमानको हल्ला नै अहिले बढी बाधक

केही महिना अघि भारतलाई सस्तोमा विद्यूत बेचेर नाफा कमाएको हो–हल्ला गर्ने कुलमानको शैली नै अहिले अघोषित लोडसेडिङको एक प्रमुख कारण भएको बुझिएको छ । अहिले प्राधिकरणले भारतबाट विद्युत किन्नुपर्दा भारतमै भारतीय रुपैयाँ १८ भन्दा माथि पर्ने भएपछि कुलमानले आलटाल गरेको बुझिएको छ । यसको प्रमुख कारण भनेको केही महिना अघि भारतलाई सस्तोमा विद्यूत बेचेर नाफा कमाएको हो–हल्ला गर्ने कुलमानले फेरि महंगोमा विद्यूत किन्दा आलोचना हुने डरले उद्योगीहरु अहिले अघोषित लोडसेडिङको मार खेप्न बाध्य भएको बुझिएको छ ।

‘पहिला सस्तोमा विद्यूत बेचेर प्राधिकरण नाफामा गएको भन्ने हल्ला गर्ने हतार कुलमानले गर्नुभयो,’ स्रोतले भन्यो, ‘अहिले महंगोमा किन्नुपर्दा आलोचना हुने डरले उहाँ आलटाल गरिरहनु भएको छ । जसका कारण अघोषित लोडसेडिङको मार खेप्न उद्योगीहरु बाध्य भएका छन् ।’ स्रोतका अनुसार कुलमान ढल्केबर मजफ्फपुरबाट जति सकिन्छ सस्तो पाए त्यहाँबाट लिने योजनामा हुनुहुन्छ । जसका कारण विहार क्षेत्रबाट विद्यूत आपूर्तिमा समस्या भएको भन्ने बाहना बनाइरहनु भएको छ ।

अझ गज्जब त के छ भने विहारले पुरानै महंगो मूल्यको सम्झौता अनुसार नविकरण नगर्ने हो भने यस्तै समस्या दोहोर्याउने चेतावनी समेत दिएको बुझिएको छ । पहिला सस्तोमा विजुली बेचेर नाफा कमाएको हो–हल्ला गरेका कुलमान अहिले महंगोमा विजुली किन्दा विवादमा पर्ने भनेर सम्झौता नविकरणमा आलटाल गरिरहेको र उहाँकै कारण लोडसेडिङको समस्या जटिल बन्ने बुझिएको छ ।

स्रोतका अनुसार सम्झौता नविकरणका लागि उताको सचिव स्तरीय निर्णय भएर यता उर्जा मन्त्रालयमा समेत जानकारी आएको समेत चर्चा छ । मन्त्रालयले पनि अहिले मन्त्री नभएको भन्दै आलटाल गरिरहेको भन्ने बुझिएको छ । पहिलाको सम्झौताअनुसार २ रुपैयाँ ९९ पैसामा विद्यूत खरिद गरिरहेको थियो । अब १८ रुपैयाँ भन्दा बढीमा नविकरण गर्र्र्न भनेको र यताबाट आलटाल भएपछि समस्या सिर्जना गरिएको पनि बुझिएको छ ।