नेपाल एयरलाइन्सद्वारा आजदेखि इलाम–काठमाडौं उडान

काठमाडाैं, १ माघ । नेपाल एयरलाइन्सले आजदेखि इलाम–काठमाडौं उडान भर्ने भएको छ । सातामा एउटा उडान गर्ने गरी इलाम नगरपालिका र नेपाल एयरलाइन्सबीच सहमति समेत भएको छ ।

एक वर्षअघि करिब तीन महिना उडान भरेर स्थगन भएको इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजदेखि पुनः उडान सञ्चालन हुने भएको हो ।

इलाम नगरपालिका–९ मा रहेको यस फल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट गत वर्ष इलाम नगरपालिकाले तारा एयरसँग सम्झौता गरेर केही उडान गरेको थियो । तर सम्झौता सकिएसँगै उडानसमेत बन्द भएको छ ।

विमानबाट इलाम–काठमाडौं करिब एक घण्टामा एकोहोरो उडान गर्न सकिन्छ । आज करिब ८ बजे काठमाडौंबाट उडान गर्ने तालिका रहेको छ । इलाममा करिब ९ बजे आउने र साढे नौ बजे काठमाडौंका लागि उड्ने तालिका निर्धारण भएको इलाम नगर प्रमुख केदार थापाले बताउनुभयो ।

इलामबाट १९ सिट क्षमताको ट्वीनअटर जहाज सञ्चालन हुनेछ । इलामबाट काठमाडौंको एकतर्फी भाडा रु छ हजार तीन सय तोकिएको छ । काठमाडौंबाट इलामका लागि भने एकतर्फी भाडा रु छ हजार पाँच सय तोकिएको छ । तर ज्येष्ठ नागरिक, विद्यार्थी र बालबालिकालाई विशेष छुटको सुविधा उपलब्ध गरिएको नगरपालिकाले जनाएको छ । एक उडानमा दुई जना ७० वर्ष नाघेका ज्येष्ठ नागरिकलाई करबाहेकको रकममा ५० प्रतिशत भाडा छुट गरिएको छ ।

यस विमानस्थल छ सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको छ ।