मन्त्रिपरिषद विस्तार आज, सहमति अनुसार कुन दललाई कुन मन्त्रालय ?

काठमाडाैं, ३ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्।

सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रकाे बैठकले साेमबार मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटाए संगै आज मन्त्रिपरिषद विस्तार गर्ने भएकाे हाे ।

सत्ता साझेदार दलका बैठकमा भएका सहमति अनुसार दलका शीर्ष नेताहरूले आफ्नो पार्टीलाई परेको भागका आधारमा मन्त्रीको नाम दिएपछि मंगलबार दिउँसो मन्त्रिपरिषद विस्तार हुनेछ । मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाउने कार्यक्रम रहेकाे छ।

सहमति अनुसार एमालेले ८, माओवादीले ४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ३, राप्रपाले ३ र जनमत पार्टीले एक मन्त्री पाउने गरी भागबन्डा गरिएको छ। साथै रास्वपा र राप्रपाले एक-एक राज्यमन्त्री पाउने सहमति पनि बनेको नेताहरूले बताएका छन्।

स्रोतका अनुसार एमालेले रक्षा, परराष्ट्र, स्वास्थ्य, कृषि, भूमि व्यवस्था, महिला बालबालिका र उद्योग मन्त्रालय लिने समझदारी बनेको छ।

माओवादीले सञ्चार, भूमि व्यवस्था, स्वास्थ्य, खेलकुद मन्त्रालय लिने छलफल भएको छ ।

राप्रपाले ऊर्जा, सहरी विकास र खेलकुद मन्त्रालय पाउने भएका छन् । उपप्रधानसहित ऊर्जा मन्त्रीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन जाने भए पनि अन्य मन्त्रालयमा कसलाई पठाउने राप्रपाले टुंगो लगाइसकेको छैन।

सोमबार भएको एमाले, माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टीले कुन-कुन मन्त्रालय लिने भन्ने भागबन्डा मिलेको हो। लोसपा र नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले शिक्षा र श्रम मन्त्रालय पाएको छ। यसअघि उक्त पार्टीले उपप्रधानसहित गृहमन्त्री पाएको थियो। कुन पार्टीले कुन मन्त्रालय पाएको औपचारिक जानकारी मंगलबार नै दिने नेताहरू बताउँछन्।

गृहमन्त्री रवि लामिछानेले जसपालाई समझदारीमा ल्याउन र अन्यलाई समेट्न केही संख्या हेरफेर हुनसक्ने बताए । उनकाअनुसार मंगलबार दिउँसो १ बजे नयाँ मन्त्रीहरूको शपथ कार्यक्रम तय भएको छ।

सत्ता साझेदार दलका एक नेताका अनुसार राष्ट्रपति र सभामुख एमालेले लिने छलफल भएको छ।