बालेनको कदम गैरकानुनी प्रमाणित

निजी जग्गामा डोजर चलाउने निर्णयको पत्र माग्न जाँदा पनि देखाउन सकेन

काठमाडौं, ३ माघ । काठमाडौं महानगरपालिकाले आफ्नो निजी जग्गामाथि डोजर चलाएकोबारे कुनै औपचारिक निर्णय गरिएको छ कि भनेर महानगरपालिका कार्यालयमा माग्न जाँदा पनि नदिएको गुनासो जग्गाधनी साहेल सिंह महर्जन (अवाले) ले गर्नुभएको छ ।

काठमाडौं महानगरपालिकाले बाटो फराकिलो पार्ने भन्दै गत पुस २८ गते कामपा वडा ३१ स्थित शंखमूलमा रहेको महर्जनको निजी जग्गामा डोजर चलाएर जग्गा घेर्न बनाइएको पर्खाल भत्काइदिएको थियो ।

त्यतिबेला महर्जनले आफ्नो जग्गा अधिग्रहण गर्नेबारे महानगरपालिकाले कुनै निर्णय गरेको छ भने त्यसको पूर्जी देखाउनु भनी आग्रह गर्नुभएको थियो । तर डोजर लिएर आएका नगर प्रहरी प्रमुख राजु पाण्डेले यसबारे महानगरपालिकाले निर्णय गरेको छ, पूर्जी चाहिए महानगरको कार्यालय जानू भन्नुभएको थियो ।

पाण्डेको त्यही भनाई मानेर महर्जनका बुबा र भाइ महानगरपालिकाको कार्यालय जानुभएको थियो । तर महानगरपालिकाले उहाँहरूलाई यसबारे गरिएको कुनै निर्णयको प्रति भने देखाएन ।

निर्णयको पत्र नदेखाएपछि महर्जन परिवारले सूचनाको हक सम्बन्धी ऐन उल्लेख गरी लिखित निवेदन बुझाए । तर महानगरपालिकाले त्यसपछि पनि आफूलाई कुनै पूर्जी नदेखाएको उहाँले बताउनुभयो ।

मैत्री न्यूजसँग कुरा गर्दै महर्जनले बताउनुभयो, ‘महानगरपालिकाले यो के गरेको हो, केही बुझिएन । निर्णय गरेको त्यो पत्र त महानगरले हामीलाई ल यही हो हेर् भनेर बकाइदासाथ देखाइदिनु पर्दथ्यो । उल्टो हामी आफै गएर माग्न जाँदा पनि देखाएन ।‘

‘अरु भए यस्तो पूर्जी बुझ्नुपर्ला भने भागी भागी हिँड्थे होला । हामी आफै पूर्जी देऊ भनेर माग्न गइरहेका छौँ । तै पनि दिँदैन ।’ उहाँले भन्नुभयो ।

महानगरपालिकाको सम्बन्धित शाखाले पत्र नदेखाएपछि उहाँहरू मेयर बालेन साहलाई नै भेट्न उहाँको कार्यकक्षमा जानुभएको थियो । तर मेयर साहले पनि भेट्न मान्नुभएन ।

उहाँले भन्नुभयो, ‘हाम्रो भाइहरू मेयरको अफिस गए तर उनीहरूलाई भित्रै छिराएन । के के मिटिङ छ भनेर भेट्नै दिइएन ।’

‘महानगरको कार्यालयले यो सम्बन्धी सबै फाइल राजु पाण्डेले लिएर गएको छ भन्यो । राजु पाण्डेले फेरि वडा अध्यक्षले लिएर गएको छ भन्यो । वडा अध्यक्ष हामीलाई भेट्नै चाहँदैन ।’ महर्जनले बताउनुभयो ।

महर्जनलाई शंका छ, आफ्नो निजी जग्गा कब्जा गर्ने बारे महानगरपालिकाले कुनै संस्थागत निर्णय गरेकै छैन । यो उसको कार्यक्षेत्र भित्र पर्ने विषय नभएकोले यसबारे निर्णय गर्न पनि सक्दैन । आफ्नो जग्गाभन्दा पछाडि ढाँटेर जग्गा बिक्री गरेका जग्गा दलालसँग मिलेर मेयर साहले आफूलाई दुःख दिन खोजेको उहाँको अनुमान छ ।

गत पुस २७ गते सार्वजनिक विदाको दिन नगर प्रहरीहरू आएर ‘भोलि पर्खाल भत्काउने’ भन्ने सूचना दिएका थिए । नभन्दै पुस २८ गते डोजर सहित पर्खाल भत्काउने प्रयास गरेपछि स्थानीय समुदाय समेत मिलेर त्यसको प्रतिकार गरेका थिए । प्रतिकारको वावजूद पनि नगर प्रहरीको डोजरले पर्खाल भने आंशिक रुपमा भत्काइदिएको थियो ।

जग्गाधनी महर्जन र उहाँका सहयोगीहरूले त्यसको भोलिपल्टै पुनः पर्खाल उठाउन खोजेका थिए । तर उहाँका कानुनी सल्लाहकारले अहिले त्यसमा नछुनू, भोलि महानगरपालिकाविरुद्ध मुद्दा हाल्न यसैलाई प्रमाणका रुपमा देखाउनुपर्छ भनेकोले अहिले त्यहाँ सामान्य सफाइ मात्र गरी कुनै काम गरिएको छैन ।

काठमाडौं महानगरपालिकाले बाटो फराकिलो गर्ने नाममा निजी जग्गामाथि समेत डोजर चलाउन थालेपछि काठमाडौंका मेयर बालेन साहको ज्यादति विरुद्ध आउँदो माघ १५ गते माइतीघर मण्डलामा वृहत् प्रदर्शनको तयारी भएको छ ।