पचली भैरवको बाह्र वर्षे नाचको तयारी शुरु, राष्ट्रप्रमुखसँग खड्ग साट्ने अझै अनिश्चित
काठमाडौं, ५ माघ । हरेक १२ वर्षमा निकालिने श्री पचली भैरवको बाह्र वर्षे नाचको लागि तयारी शुरु भएको छ । यही आउँदो वि.सं. २०८० सालको दशैंदेखि यो नाच शुरु हुँदैछ । ठूलो तयारीकासाथ निकाल्नुपर्ने नाच भएकोले यसको लागि अहिलेदेखि नै पूर्व तयारी शुरु गरिएको हो ।
सामान्य बोलीमा पचली भैरवको बाह्र वर्षे नाच भनिए पनि यो नाचको खास नाम भने ‘श्री पचली भैरवको खड्ग सिद्धी नाच’ हो । यही नाचमा नाचका प्रमुख पात्र श्री भैरवले काष्ठमण्डप छेवैको भुतिसतलमा बसेर राजासँग खड्ग साट्ने गरिन्छ ।
नाच सार्वजनिक हुने पहिलो दिन अर्थात दशैंको विजया दशमीकै राति नाचका प्रमुख पात्र श्री भैरवले राजासँग खड्ग साट्ने गरिन्छ । श्री भैरवसँग साटेर लिएको खड्गले राजाको शक्ति रिचार्ज गरी बलशाली बनाइदिने विश्वास गरिन्छ ।
तर देशमा गणतन्त्र आइसकेपछि भने यो नाचका भैरवले राष्ट्रपतिसँग खड्ग साटेका छैनन् । आजभन्दा १२ वर्ष अघि यो नाच निकाल्दा देशमा भर्खर गणतन्त्र आएको थियो र राष्ट्रप्रमुखका रुपमा डा. रामवरण यादव कायम रहनुभएको थियो ।
राजासँग मात्र खड्ग साट्ने विधान भएको यो नाचका प्रमुख देवता श्री पचली भैरवले राष्ट्रपतिसँग खड्ग साट्न मिल्छ वा मिल्दैन भन्ने विवाद हुँदाहुँदै खड्ग साट्ने दिन कटेको थियो । उक्त वर्ष राजाले बोक्ने खड्गसँग श्री भैरवको खड्गले छुवाउने मात्रै कार्य गरिएको थियो ।
यो वर्ष पनि श्री भैरवले राजासँग खड्ग साटेर गरिने खड्ग सिद्धिको कार्य के हुने हो ठेगान नभएको बताउनुहुन्छ जात्रा व्यवस्थापन समितिका सचिव भरत माली । उहाँ भन्नुहुन्छ, ‘देवीदेवतासम्बन्धी कार्य हो, धेरै गुह्य विधिहरु रहेका हुन्छन्, पहिलदेखि चल्दै आएको परम्पराहरू रहेका हुन्छन् । बाहिर भनिए जस्तो वा सोचे जस्तो सजिलो हुँदैन । त्यसैले यसै हुन्छ भनेर अहिल्यै भन्न सकिन्न ।’
तर अहिले भने यी सबै कुराहरुलाई एकातिर पन्छाएर नाच निकाल्ने तयारीमै पूर्ण रुपमा ध्यान केन्द्रित भएको उहाँले बताउनुभयो । आउँदो २०८० सालको दशैंमा यो नाच सार्वजनिक भएपछि लगातार एक वर्षसम्म सञ्चालन हुनेछ ।

नाच विजया दशमीका दिन निकालिने भए पनि त्यसको प्रारम्भिक तयारी भने शुरु भइसकेको छ । यो कार्य हाल ‘श्री पचली भैरव श्री भद्रकाली (लुमधि) अजिमाको बाह्र वर्षे खड्ग सिद्धि जात्रा गुथि व्यवस्थापन समिति’ ले सञ्चालन गरिरहेको छ ।
यसै वर्ष मात्र गुथिको द्यःछेँको नयाँ भवन पनि निर्माण सम्पन्न भएको छ । कामपा २१ वडास्थित ज्याबहाल टोलमा निर्माण गरिएको सोही भवनमा अहिले नाच र बाजा सिकाउने कार्य भइरहेको छ । यो तयारी कार्य पनि गोप्य रुपमा भइरहेको छ ।
अहिले भइरहेको यो कार्य पूर्व तयारी मात्रै हो । नाचको औपचारिक तयारी भने आउँदो गथांमुगः (गठेमंगल) का दिनदेखि शुरु हुनेछ । औपचारिक तयारी शुरु भएपछि नाचका पात्रहरू नियममा बाँधिनुपर्ने हुन्छ । गथांमुगःको दिनदेखि नाचका सबै पात्र र यसमा सहभागी समूहले अरुको जुठो खान नहुने, भोज जान नहुने, रतिक्रियाबाट अलग बस्नु पर्ने जस्ता नियमहरू पालना गर्नुपर्ने हुन्छ ।
नाचको यो रिहर्सल एक महिनासम्म सञ्चालन हुनेछ भने दशैंको विजया दशमीका दिन नाच सार्वजनिक हुनेछ । त्यसपछि एक वर्षसम्म यो नाच काठमाडौंको मरु टोल, हनुमानढोका, लगन टोल, पचली, इन्द्रचोक, असन, भिमसेनथान, नक्साल, हाँडीगाउँ लगायत पाटन, भक्तपुर, साँखु, गोकर्ण, चाँगुमा लगेर प्रदर्शन गरिन्छ ।
वि.सं. २०८१ सालको भलभल अष्टमिका दिन यो नाच समापन हुन्छ । नाच समापन भएपछि नाचका पात्रहरूले लगाउने सबै मुखौटा टेकु दोभानमा जलाइन्छ ।
