तस्करले मारे चितवन राष्ट्रिय निकुञ्जका दुईवटा गैंडा

चितवन, ६ माघ । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी नदी किनारमा तस्करले दुई वटा गैंडा मारेका छन् ।

नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नम्बर- २ स्थित नारायणी नदी किनारमा मृत अवस्थामा दुई गैंडा फेला परेका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार एउटा अन्दाजी १४ वर्षको वयस्क पोथी गैंडा र सोही गैंडाको चार वर्षको केटोलाई तस्करहरुले मारेका हुन् ।

स्थानीयले गैंडा मृत अवस्थामा देखेपछि निकुञ्ज र सेनालाई खबर गरेका थिए । पोथी गैंडाको खाग काटिएको अवस्थामा फेला परेको छ, त्यसैले यो गैंडा तस्करले नै मारेको हुन सक्ने निकुञ्जको भनाइ छ ।

गैंडा मृत्युबारे अनुसन्धान भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले बताए ।
यस वर्ष यी सहित १० गैंडा मरेका छन् ।