एमालेका सबै जनसङ्गठनको सम्मेलन गर्ने मिति घोषणा

काठमाडौं, १० माघ । लामो समयसम्म अधिवेशन समेत नभई लथालिंग अवस्थामा रहेका नेकपा (एमाले) समर्थित सबै जनवर्गीय सङ्गठनहरुको राष्ट्रिय अविधेशन वा सम्मेलन गर्ने तयारी शुरु भएको छ । त्यसको लागि कुन संगठनको कहिले अधिवेशन गर्ने भन्ने मिति समेत तोकिएको छ ।

एमाले जनसङ्गठन समन्वय संयन्त्रका सहसंयोजक तथा केन्द्रीय सदस्य रचना खड्काले नेकपा (एमाले) समर्थित नौवटा जनवर्गीय सङ्गठनको महाविधेशन÷सम्मेलन मिति घोषणा गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार सबै जनसङ्गठनले यही आउँदो चैत मसान्तभित्र आआफ्नो अधिवेशन÷सम्मेलन आयोजना गर्नुपर्ने गरी मिति तोकिएको हो ।

गत पुस २४ र २५ गते काभ्रेको धुलिखेलमा सम्पन्न भएको जनसङ्गठनको भेलाले आगामी चैत मसान्तभित्र सबै जनवर्गीय संगठनहरुको राष्ट्रिय अधिवेशन वा सम्मेलन गर्ने निर्णय गरेको थियो । सबै जनसङ्गठनका पदाधिकारी र सचिवालय बैठकले अधिवेशन वा सम्मेलनको मिति तोकेको हो ।

अहिले घोषणा गरिएको मिति अनुसार अब अनेरास्ववियुको अधिवेशन आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ ।

त्यस्तै नेपाल खेलकुद महासङ्घको सम्मेलन फागुन ७ देखि ९ गतेसम्म विराटनगरमा, रिटर्नी फेडरेसन नेपालको चैत ११ र १२ गते काठमाडौँमा सम्मेलन हुने भएको छ ।

यस्तै लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपालको सम्मेलन चैत १८ र १९ गते काठमाडौँमा हुने भएको छ भने नेपाल पिछडा वर्ग महासङ्घको सम्मेलन चैत २२ र २३ गते वीरगञ्जमा हुने भएको छ ।

त्यसै गरी पेसागत महासङ्घ नेपालको चैत २४ र २५ गते काठमाडौँमा, अखिल नेपाल महिला सङ्घको चैत २५ देखि २६ गते काठमाडौँमा, अखिल नेपाल किसान महासङ्घको चैत २६ देखि २८ गते नवलपुरमा र राष्ट्रिय युवा सङ्घको चैत २७ देखि २९ गतेसम्म बाँकेमा सम्मेलन हुने जनाइएको छ ।

एमाले र तत्कालीन नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकताबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेपछि जनवर्गीय सङ्गठनका अधिवेशन नियमित हुन सकेका थिएनन् । एमालेसँग आवद्ध २३ वटा जनवर्गीय सङ्गठन छन् । पार्टीमा विवाद चल्नु, केही समूह छुट्टिएर जानु, लामो समयसम्म सम्मेलन नहुनु आदि जस्ता कारणले गर्दा एमालेका जनवर्गीय संगठनहरू गत मंसिरको आम निर्वाचनमा समेत सक्रिय हुन सकेको थिएन ।
–––