एमाले एकताबद्ध छ, गुटबन्दी छैन, गुटबन्दी हुन पनि दिइँदैनः ओली

काठमाडौं, माघ ११। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि काममा सफलता प्राप्त गर्न, अस्तित्व कायम गर्न र विकासका निम्ति अनुशासन अनिवार्य रहेको वताउनुभएको छ ।

नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगको पाँचौं पूर्ण बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले गत निर्वाचनमा पार्टीले जे जति असफलता भोग्नुपर्यो, त्यसको प्रमुख कारण पार्टीभित्रको अनुशासनमा कमी र अनुशासन उल्लङ्घन रहेको वताउनुभयो ।

‘यत्रो इतिहास भएको, जनवर्गीय संगठन भएको, बर्षौदेखि सङ्घर्ष र योगदान गरेको पार्टीका नेता कार्यकर्ताले निर्वाचनमा पराजित हुनुको कारण हाम्रा विरूद्ध भ्रम फिजाइयो भनेर चित्त बुझाउने कि भ्रम चिर्ने ? देश र जनताका लागि डेडिकेटेड पार्टी र त्यसका नेता कार्यकर्ताप्रति जनताको आकर्षण किन हुन सकेन ? त्यसको निर्मम ढङ्गले समीक्षा र खोजी हुनुपर्छ ।’ अध्यक्षले भन्नुभयो ।

पार्टी संगठनभित्र गम्भीर समस्याका रूपमा रहेको अनुशासनहीनताको अवस्थाबाट चिन्तित हुनुपर्ने र अनुशासन आयोगले निर्ममतापूर्वक समीक्षा गरी सुधारका कदम चाल्नुपर्ने उहाँको भनाई छ । अनुशासन आयोगले अनुशासनसम्बन्धी तालिम दिएर मान्छे हुनुको अर्थ सिकाउनुपर्ने अध्यक्ष ओलीले वताउनुभयो । उहाँले भन्नुभयो– अनुशासन भनेको के हो, यसको असाधारण र अकाट्य महत्व आयोगले बुझाउनुपर्छ ।

अनुशासन आयोगका सदस्यहरू आफै अनुशासित र परिवार, गाउँ, समाज र पार्टीमा नमूना बन्नुपर्ने र पार्टीका नेताकार्यकर्तालाई पनि अनुशासित र आदर्श व्यक्ति बन्न प्रेरित गर्नुपर्ने उहाँको भनाई छ ।

अध्यक्ष ओलीले हामीले प्रशिक्षणमा भौतिकवाद सिकाउँदा सामाजिक र मानवीय भौतिकवाद, सभ्य, सुसंस्कृत र उन्नत भौतिकवाद सिकाउनुपर्छ भन्नुभयो । उहाँले भन्नुभयो– नेकपा (एमाले) का नेताकार्यकर्ता समाजमा रहेका असल मान्छेभन्दा पनि ज्ञान, व्यवहार र आचरणमा श्रेष्ठ हुनुपर्छ । ‘हिजोका दिनमा नेकपा (एमाले) लाई सिध्याउन लागेकाहरूबाट पार्टी बचाउने, रक्षा गर्ने प्रमुख काम थियो, त्यस क्रममा पार्टी मोटाएको मात्र होइन, अलि अलि सुनिएको पनि हुनसक्छ, त्यो च्याप्टर सकिएको छ, अब चारबर्ष पार्टी वैचारिक, सांगठानिक र सक्रियताका हिसावले शुद्धीकरण गरी चुस्त दुरुस्त बनाएर लैजानुपर्छ ।’ अध्यक्षले भन्नुभयो– अहिले पार्टी एकढिक्का रहेको छ, एकताबद्ध छ, गुटबन्दी छैन, गुटबन्दी हुन पनि दिइँदैन ।

ब्रमाण्डले अनुशासन मानेको र ग्रह, उपग्रह पनि थिति, विधिमा चल्ने गरेको चर्चा गर्दै उहाँले मानिस आफैले बनाएको विधि, विधान, नियम, पद्धति र अनुशासनमा नचल्नु भनेको विग्रने बाटोमा लाग्नु हो भन्नुभयो ।

अध्यक्ष ओलीले गत निर्वाचनमा अनुशासन उल्लङ्घनका कस्ता घटना र प्रवृत्ति देखिए, तिनलाई आगामी दिनमा रोक्न के कस्ता कदम चाल्न सकिन्छ, आयोग आफ्नो तर्फबाट के गर्ने र पार्टीबाट के कस्ता कदम चाल्न उपयुक्त हुन्छ भन्ने विषयमा आयोग बैठकले ठोस निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगका अध्यक्ष केशव वडालको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज २०७९ माघ १० गते बसेको वैठकमा आयोगले तयार गरेको निर्वाचन २०७९ को समीक्षा प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यसैगरी बैठकमा प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचित पार्टीका सांसदहरूलाई बधाई दिनुका साथै आयोगका सदस्यहरूले रिपोर्टिङ पनि गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *