माघ १५ गते पसल बजारै बन्द गरी काठमाडौंवासी सहभागी हुन आउने
काठमाडौं, १२ माघ । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको ज्यादति विरुद्ध आउँदो माघ १५ गते आयोजना गर्न लागिएको वृहत् प्रदर्शन तयारीका लागि महानगरपालिकाका सबै टोलहरूमा कालो ब्यानर राखिने भएको छ ।
ज्यापु महागुथि काठमाडौं महानगर समितिले मंगलवार डाकेको भेलाले ज्यापु समाजको परम्परागत ६३ वटै टोलमा मेयर बालेन साह विरुद्ध दुई दुई वटा कालो ब्यानर राख्ने र माघ १५ गते आयोजना हुने वृहत् प्रदर्शनमा भाग लिन आह्वान गर्ने निर्णय गरेको हो ।
काठमाडौं महानगरपालिकाले गत पुस २८ गते कामपा ३२ नम्बर वडाको शंखमुलमा स्थानीय साहेल सिंह महर्जनको निजी जग्गामाथि डोजर लगाएपछि स्थानीय जनता महानगरपालिका र मेयर साहप्रति आक्रोशित भएको छ ।
माघ १५ गते उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितिको संयोजनमा हुन लागेको उक्त वृहत् प्रदर्शनमा भाग लिन काठमाडौंको दरवारमार्ग, बागबजार, महाबौद्ध क्षेत्रका सम्पूर्ण व्यापारीहरू आआफ्नो पसल नै बन्द गरेर आउने तयारीमा रहेको बताइएको छ ।
काठमाडौं महानगरपालिकाले यो ठाउँमा रहेको पार्किङ हटाइदिएपछि उक्त स्थानको बजार सुकेको र व्यवसायीहरू ठूलो मारमा परेका छन् । कोरोनाको मारबाट भर्खर तंग्रिन थालेका स्थानीय व्यवसायीहरूलाई पार्किङ बन्द गरिदिनाले ठूलै समस्या हुन थालेको बताइएको छ ।
त्यस्तै महानगरपालिकाले टुँडिखेल मासेर बहुतले पार्किङ भवन बनाउने प्रस्ताव अघि सारेपछि आक्रोशित भएका ‘ओकुपाई टुँडिखेल’ का अभियन्ता एवं सम्पदाप्रेमिहरूले पनि प्रदर्शनीमा सक्रिय सहभागिता जनाउने बताएका छन् ।
त्यस्तै कामपा २५ वडामा डोजर चलाई क्षति पुर्याइएको सामुदायिक भवन (त्वाःछेँ) सँग आवद्ध स्थानीयवासी, अण्डरग्राउण्ड तलामा पसल राखे भनी हटाइएका पीडित साना व्यवसायी र टुकुचा खन्ने नाममा अनावश्यक रुपमा ‘भू माफिया’ भनी आरोप लगाइएका स्थानीय पीडितहरु पनि प्रदर्शनमा सहभागी हुने बताइएको छ ।
प्रदर्शन आउँदो माघ १५ गते दिउँसो २ बजे माइतीघर मण्डलामा हुँदैछ ।
मंगलवार भएको भेलामा आफ्नो भनाइ राख्दै शंखमुलका पीडित साहेल सिंह महर्जनले महानगरपालिकाले आफ्नो पर्खाल भत्काइसकेपछि आफ्नो परिवार महानगरपालिकाको कार्यालयमा गई यस सम्बन्धी पत्र माग्दा पनि नदिएको बताउनुभयो ।
कामपा २२ वडाका वडा अध्यक्ष चिनीकाजी महर्जनले शंखमुलमा अहिले दावी गरिएको जीएलडी हाल खारेज भइसकेको बताउँदै अहिले सो ठाउँमा मानिसहरूले आफूखुशी जताततै घर, पर्खाल, बाटो निर्माण गरिसकेको कारणले पुरानो जीएलडी ब्युँताइ नै हाले पनि त्यसलाई कार्यान्वयन गर्न सकिने अवस्था नभएको जानकारी दिनुभयो ।
सो ठाउँका केही प्रभावशाली व्यक्तिहरूले सत्ताको पहुँचलाई दुरुपयोग गरी स्थानीय जनतालाई पेलेरै भए पनि बाटो बनाउँछु भन्ने दम्भका साथ त्यहाँ डोजर चलाउन लगाएको दावी पनि उहाँले गर्नुभयो ।
माघ १५ गतेको प्रदर्शनीका लागि संयोजन गरिरहनु भएका अभियन्ता सुमन सायमिले प्रदर्शनीमा सहभागिता जनाउन धेरै ठाउँबाट आफूलाई सम्पर्क गरिरहेको जानकारी दिनुभएको छ ।
सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले महानगरपालिका नसुध्रिएमा महानगरपालिकालाई सही बाटो देखाउन र होशियारी गर्न काठमाडौंमा गुठी आन्दोलन जस्तै दोहोरिन सक्ने चेतावनी दिनुभएको छ ।