बाँकेमा श्रीमती र छोरालाई पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते
रुपन्देही, १६ माघ । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् ।
कोहलपुर–१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा आइतबार साँझ श्रीमती गंगा विक र २ वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको बाँकेका प्रहरीले जनाएकाे छ । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।
गंगा विकको घाँटी र ढाडमा जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार हुँदै छ । आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएकाे छ ।