हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन प्रकरण

उच्च अदालत पाटनले टुकुचा उत्खननमा लगायो रोक

काठमाडाैं, १८ माघ । उच्च अदालत पाटनले हात्तिसार क्षेत्रमा पर्ने टुकुचा उत्खनन गर्न रोक लगाएकाे छ । अदालतले अन्तरिम आदेश जारी गर्दै काठमाडौं महानगरको अभियान अन्तरगत् डोजर चलाउन राेक लगाएकाे हाे ।

लिखित फैसला भने बिहीबार आउने उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले जानकारी दिए।न्यायाधीशहरू महेश पौडेल र राज्यलक्ष्मी ब्रजाचार्यको इजलासले बुधबार यस्तो निर्णय गरेको हो।

‘हात्तिसार वरपरको टुकुचाक्षेत्रमा उत्खनन गर्ने महानगरपालिकाको अभियानमा रोक लगाउन अन्तरिम आदेश जारी गरेको छ। लिखित आदेश भोलि आउँछ,’ रजिष्ट्रार कट्टेलले भने।

हात्तिसार क्षेत्रका शारदा मानन्धर, किरण प्रकाश शाखसहित २१ घरधनीले महानगरले आफ्नो घरजग्गामा डोजर चलाउन थालेपछि त्यसलाई रोक्न माग गर्दै उच्च अदालत पाटनमा रिट दिएका थिए।

रिट निवेदकमध्ये कतिपयले राणाहरूबाटै किनेर नामसारी गरेको अनि भोग चलन गर्दै आएका थिए। कतिपयले भने राणाहरूको जग्गा सर्दै सर्दै आएका व्यक्तिबाट किनेका थिए।

आफूहरूले किनेर भोगचलन गरेकोमात्र होइन महानगरबाटै भवन निर्माणको इजाजत लिएर घर बनाएको, महानगरलाई तिरो तिरेको लगायत तथ्य देखाउँदै आफ्ना घरजग्गा सार्वजनिक नभइ निजी रहेको जिकिर गरेका थिए।

हात्तिसारका स्थानीयले आफ्नो निजी सम्पत्तिमा महानगरले कानुनी रित प्रकृया नपुर्‍याइ डोजर चलाएको भन्दै रिट दायर गरेका थिए भने पुरातत्व विभागले पनि त्यो क्षेत्रमा अध्ययन गरेको थियो।

विभागले अध्ययन गरि निकालेको प्रतिवेदनमा आजभन्दा कम्तिमा १३० वर्षअघि निकै व्यवस्थित र वैज्ञानिक तरिकाले बनाइएको गुम्बज शैलीको भूमिगत सुरूङलाई महानगरको डोजरले तीन ठाउँमा क्षति पुर्‍याएको जनाइएको थियो।

यो सुरूङको लम्बाइ ४४० मिटर छ। टुकुचाको दुवैतर्फ इँटाको गारो उठाएर माथिपट्टि अर्धगोलाकार गुम्बज स्वरूपमा चुनासुर्कीको मोटार प्रयोग गरी भूमिगत ‘ढल’ संरचना बनाइएको विभागले जनाएको छ।

राणाकालमा टुकुचाको दुवैतर्फ पर्ने हात्तीसार दरबार, सेतो दरबार, लाल दरबार र ती दरबारसँग सम्बन्धित वास्तुकलामा टुकुचाको बाढी नपसोस् र दरबार क्षेत्र दुर्गन्धित नहोस् भनेर ढल निर्माण गरिएको प्रतिवेदनमा उल्लेख छ।