संसद्को भूमिका जनउत्तरदायी बनाइनुपर्छ : सभामुख घिमिरे
काठमाडौं, १९ माघ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई जनउत्तरदायी र प्रभावकारी बनाइनुपर्ने खाँचो औँल्याउनुभएको छ ।
जनप्रतिनिधिले जनतासमक्ष गरेको बाचा संसदीय विधि र प्रक्रियाद्वारा अनुमोदित गर्ने र जनताप्रति जवाफदेही रहने मुख्य थलो संसद् नै भएकाले यसको गरिमालाई उँचो बनाउने गरी जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न उहाँले सांसदलाई अनुरोध गर्नुभयो ।
सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभाका सांसदका लागि आयोजना गरेको ‘संसदीय प्रक्रिया र अभ्यास’ विषयक अभिमुखिकरण कार्यक्रमको आज उद्घाटन गर्दै सभामुख घिमिरेले संसदीय व्यवस्था र प्रणालीलाई उँचो बनाउन सांसदको भूमिका प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “संसदीय व्यवस्था र प्रणालीको गरिमा बढाउन र संसद्को भूमिकालाई जनउत्तरदायी बनाउन विज्ञ सरोकारवालाबाट प्रस्तुत हुने ज्ञान, सीप र अनुभवले संसदीय भूमिकालाई थप सिर्जनशील बनाउन मद्दत पुग्नेछ ।”
उहाँले विगतका कतिपय संसदीय अभ्यास जनउत्तरदायी नभएको गुनासो बढेको भन्दै नयाँ परिस्थितिमा संसदीय भूमिकालाई प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गर्नुभयो ।
“संसद्को सर्वोच्च निकाय संसद्प्रति देशले आशा गरेको छ । संसद्को आफ्नै प्रक्रिया र अभ्यास छ । विषयगत र जनउत्तरदायी भएर संसदीय काम कारबाहीलाई जनताप्रति जवाफदेही र पारदर्शी ढङ्गले अघि बढाउन दुई दिने अभिमुखिकरणले मद्दत पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो ।
उहाँले संसद् प्रतिपक्षको भूमिकालाई प्रभावकारी ढङ्गबाट अभिव्यक्ति गर्ने, त्यसलाई व्यवहारमा उतार्नका लागि भूमिका खेल्न आग्रह पनि गर्नुभयो । संसद्लाई प्रभावकारी बनाउने भूमिका सरकारको रहेको उल्लेख गर्दै सरकारका ऐन, कानुन बनाउने, देशको बजेट निर्माणलगायतका काम गर्दै प्रतिपक्षी दललाई पनि समन्वय गरेर लैजान सरकारको पनि जवाफदेहिता जरुरी भएको धारणा राख्नुभयो ।