नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी कोहलपुरबाट पक्राउ
बाँके, १९ माघ । नागरिक उन्मुक्ति पार्टीका सांसद अरूणकुमार चौधरी पक्राउ परेका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रवक्ता डिआइजी पोषराज पोखरेलका अनुसार चौधरीलाई बिहीबार बाँकेको कोहलपुरबाट पक्राउ गरेको हाे ।
चौधरीले गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका सांसद जितेका हुन् ।
९ वर्षसम्म फरार रहेको र पटक-पटक निर्वाचन लडेको भए पनि प्रहरीले उनलाई अहिलेसम्म पक्राउ गरेको थिएन। सांसद चौधरीलगायत तीन जना आगजनी मुद्दामा दोषी ठहर भएकाहरू हुन्।
अरूण चौधरी, पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई जिल्ला अदालत कैलालीका तत्कालीन जिल्ला न्यायाधीश विष्णु सुवेदीको इजलाशले २०७० साल वैशाख ९ गते ६ महिना कैद सजाय तोकेको थियो।
अदालतले ८ लाख १९ हजार ४२३ रुपैयाँ बिगो भराउन पनि आदेश दिएको थियो। आगजनी मुद्दा २०६५ साल भदौ ३ गतेको हो।
लु २ त २११ नम्बरको ट्याक्टर साजन चौधरीले चलाएर चिसापानीस्थित गोरांगा खोलामा ढुंगा लिन गएका थिए। त्यहाँबाट ढुंगा लोड गरी फर्किने क्रममा सांसद अरूण चौधरी लगायतले ट्याक्टर रोक्न लगाएर चालकमाथि कुटपिट तथा ट्याक्टरमा आगो समेत लगाएका थिए।
उक्त ट्याक्टर लम्कीचुहा नगरपालिकाका महादेव बजगाईंको थियो। जो २०७४ मेयर भएका थिए। उनकै जाहेरीले उनीहरूविरूद्ध मुद्दा दर्ता भई अदालतबाट आदेश भएको थियो।
उनले आफ्नो ट्याक्टर जलाएर आठ लाख १९ हजार ४२३ रुपैयाँ बराबरको क्षति पुगेको दाबी गरेका थिए। अदालतले पनि उक्त बिगो असुल्न आदेश दिएको थियो।